नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिंगो नगरबासीहरुको तर्फबाट स्वागत गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नेपालकै प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्य जनश्रमदानमार्फत गरिरहेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको समयमा जनप्रतिनिधि र प्रशासनले खेलेको भूमिकाबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुर देशकै सानो जिल्ला भएर पनि सांस्कृतिक विविधता बोकेको जिल्ला भएको हुँदा सुन्दर नगरी भक्तपुरमा सरुवा भएर कार्य गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।
स्वागत कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको संक्षिप्त परिचय दिनुहुँदै प्रहरी प्रशासनको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक सबिन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रुपमा आउनुभएको हो । उहाँ काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा भई भक्तपुर जिल्लामा आउनुभएको हो ।










