भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठक शुक्रबार पनि चालु छ ।
सभामा नगर प्रमुख प्रजापतिले नागरिकता विधेयक, एमसीसी सम्झौता, नेपाली भूमि अतिक्रमण र कोरोना भाइरसको जोखिमलगायतका राष्ट्रिय÷अन्तर्राष्ट्रिय विषयबारे छलफल हुनु सकारात्मक भएको बताउनुहुँदै देश संकट परेको समयमा जनप्रतिनिधि तथा कर्मचारीहरूले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारले लम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्नु सुखद् कुरा भएको बताउनुहुँदै उहाँले खुला सिमानाका कारण नागरिकता विधेयक नेपालको लागि निकै संवेदनशील विषय भएको र विवाह गर्ने बित्तिकै सजिलै अंगीकृत नागरिकता पाउने र अंगीकृत नागरिक प्रशासनिक र राजनैतिक पदहरुमा प्रतिस्पर्धा गर्न पाउने बन्दोबस्तको अन्त्य हुनुपर्ने बताउनुभयो ।
कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुने बताउनुहुँदै प्रमुख प्रजापतिले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध आवश्यकता औंल्याउनुहुँदै भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट नगरबासीहरुलाई जोगाउन विभिन्न गतिविधिहरु गरेको बताउनुभयो ।
आज बसेको नगरसभा बैठकमा आ.व. २०७७÷७८ विनियोजन बजेटमाथि सभासद्हरुले भाग लिनुभयो । छलफलमा सभासद् गोविन्द दुवालले पर्यटन शुल्क नउठ्ने भएकोले जनप्रतिनिधिहरुले यो आर्थिक वर्षमा विदेश भ्रमण नगर्ने र बैठक भत्ता आधा लिने निर्णय समयसापेक्ष भएको, खानेपानी व्यवस्थापनको लागि खानेपानी बोर्डलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । सभासद् हेरा ख्याजुले उद्योग तथा व्यवसाय कर समयअनुसार बढाउनुपर्ने, दर्ता नभएकालाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफलमा सभासद्हरु इन्द्रबहादुर प्याथ, हेरा ख्याजु, शिवप्रसाद बाला, बलराम न्हिसुतु, राजेन्द्र माक, तुल्सीलक्ष्मी दुमरु, सूर्यप्रसाद श्रेष्ठलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नगरसभाको अर्को बैठक असार १४ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।








