पैतालोमुनि थिचिएको इतिहास

पुरुषोत्तमलोचन श्रेष्ठ

४ भदौ, बिहीबार २०८३ । फेसबुक–मेसेन्जरको नोटिफिकेसनमा एकजना फेसबुक–मित्र श्री राजाराम गोसाईंज्यूले कुम्भेश्वरमन्दिरको दक्षिणपेटीमा अन्य सामान्य शिलाफलक सरी छापिनपुगेको एउटा अभिलेखित शिलाको तस्बिरसहित निम्न जानकारी पठाउनुभएको रहेछ –

“नमस्कार । यो शिला पाटनको बगलामुखी मन्दिरसँगै रहेको पाँचवटा छाना भएको मन्दिरको पेटीको दक्षिण तिर भुइँमा रहेको छ जुन मन्दिरमा आउने भक्तजनहरूले कुल्चिने गरी राखिएको रहेछ जुन गर्नु नहुने हो कि भन्ने मलाई लागेकोले शिलाको फोटो खिचेको हो । यो कुरा तपाईं समक्ष सेयर गरेको छु । धन्यवाद ।”

उक्त शिलाको तस्बिर केही बेर गहिरिएर हेरेपछि त्यसमा उत्कीर्ण एक पङ्क्तिको अभिलेख उत्तरलिच्छविकालिन लिपिमा हुनुपर्छ भन्ने प्रारम्भिक निष्कर्षमा पुगेँ । त्यसपछि राजारामजीलाई मेसेन्जरमार्फत लेखेँ – “धन्यवाद राजारामजी, लिच्छविलिपि देखिन्छ । यसको संरक्षणको प्रयास गर्नेछु ।”

भोलिपल्ट बिहानै कुम्भेश्वर मन्दिर पुगेँ । कुम्भेश्वरमहादेवको दर्शन गरी एक फन्का घुमेपछि राजारामजीले बताउनुभएको स्थानतिर, मन्दिरको दक्षिणपट्टीको पेटीमा अभिलेखित शिला खोज्न थालेँ । त्यहाँ नदेखेपछि पेटीबाट तल झरेँ र सँगै रहेको बगलामुखी मन्दिरअगाडिसम्म पुगेर पनि खोजेँ, तर शिला फेला परेन । त्यसपछि बगलामुखीमाईको दर्शन गरी त्यहीँका पुजारीलाई सोधेँ – “मलाई थाहा छ । यहाँ कुम्भेश्वरमन्दिरको दक्षिणपट्टी अभिलेख कुँदिएको शिला छ भन्ने सुनेर हेर्न आएको हुँ कतै देखिनँ, तपाईं त यहाँको पुजारी हुनुहुन्छ, कुनचाहिँ शिला हो, देखाइदिनुहुन अनुरोध छ ।” उहाँले सहज रूपमा भन्नुभयो “मलाई थाहा छैन । त्यही मन्दिरको पुजारीलाई सोध्नुहोस् ।” त्यसपछि म सिधै कुम्भेश्वरमन्दिर फर्किएँ । त्यहाँ रातो परम्परागत पहिरनमा, मन्दिरको गर्भगृहमा कुम्भेश्वर महादेवको पूजा गरिरहनुभएका तथा भक्तजनहरूलाई चन्दन, फूल–प्रसाद वितरण गरिरहनुभएका पुजारी माधवश्याम शर्माज्यूलाई उहाँको नाम सोधेपछि आफ्नो जिज्ञासा राखेँ … “यहाँ यस मन्दिरको दक्षिणपट्टीको पेटी वा भुइँमा अभिलेख कुँदिएको शिला छ भन्ने सुनेर हेर्न आएको हुँ कुनचाहिँ शिला हो …” मेरो प्रश्न पूरा हुन नपाउँदै उहाँ उत्साहित र आत्मीय भावमा अभिलेख कुँदिएको शिला देखाउँदै भन्नुभयो:

“… उ त्यही हो, यसलाई संरक्षण गर्नुपर्‍यो भनेर मैले धेरैपल्ट पुरातत्त्व विभागलाई अवगत गराएँ, अनुरोध गरेँ, वडामा पनि कुरा राखेँ, तर कसैले चासो देखाएन । त्यो शिला जहाँको त्यहीँ छ । तपाईँजस्तै यस शिलाको बारेमा सुनेर आउने अरू मानिसहरू पनि आउँछन्, विद्यार्थीहरू पनि हेर्न आउँछन् । अगणितीय भक्तजनहरू भगवान्‌को दर्शन गर्न आउँछन्, यो शिलालाई अज्ञानवश कुल्चेर जान्छन् ।”

पुजारी शर्माज्यूलाई धन्यवाद दिँदै त्यसपछि म मन्दिरको दक्षिणपट्टीको पेटीमा पछिल्लो कुनै कालखण्डमा सामान्य शिलाफलक सरह छापिनपुगेको उक्त अभिलेखित शिलाको अध्ययनतिर लागेँ । शिलालाई सफासँग पुछेएपछि पीठो मलेर अक्षरहरू स्पष्ट देखिने बनाएँ र त्यसको नापोसहित तस्बिर लिएँ । त्यस क्रममा एकजना युवा मेरो कामलाई उत्सुकतापूर्वक हेरिरहनुभएको थियो । केही बेरपछि उहाँ आफैँ नजिक आएर मलाई सघाउन थाल्नुभयो । उहाँ त्यहीँ इखाछेँटोलका सुदीप श्रेष्ठ हुनुहुँदा रहेछ । सो अभिलेखयुक्त शिलाको महत्त्वबारे बताएपछि उहाँले स्थानीय वडा कार्यालयलाई समेत जानकारी गराई यसको संरक्षणका लागि पहल गर्ने वचन दिनुभयो ।

घर फर्किएपछि उक्त अभिलेखित शिलाको सूक्ष्म अध्ययन गर्न थालेँ । सुरुमा मलाई लागेको थियो – कुम्भेश्वरको यो अभिलेख सम्भवतः अप्रकाशित नै हुनुपर्छ । यसको लिपि उत्तरलिच्छविकालिन रहेको देखिन्थ्यो र अंशुवर्माकालीन लिपिसँग पनि यसको पर्याप्त साम्य देखिन्थ्यो । तर कतै पहिले नै प्रकाशित पो छ कि भन्ने जिज्ञासा जाग्यो । त्यसपछि आफ्नै गुरु, प्रसिद्ध इतिहासकार एवं लिपिविज्ञ धनवज्र वज्राचार्यद्वारा लिखित ‘लिच्छविकालका अभिलेख’ पल्ट्याउन थालेँ । पुस्तकको १५७ सङ्ख्या, पृष्ठ ५८३ मा यसै शिलाको अभिलेख लिप्यान्तर तथा अनुवादसहित प्रकाशित रहेको भेटियो । अभिलेखको विस्तृत व्याख्या भने उहाँले गर्नुभएको रहेनछ । यस अभिलेखबारे उहाँको टिप्पणी यस प्रकार छ (वज्राचार्य, २०३०, सङ्ख्या १५७ पृष्ठ ५८३)–

पाटन कुम्भेश्वरको प्रसिद्ध मन्दिरको पेटीमा यो अभिलेख कुँदिएको ढुङ्गा छापेर राखिएको छ । यसको लिपि अंशुवर्माको ताकाको छ । नोलीद्वारा ८६ सङ्ख्याको रूपमा यो छापिएको छ ।

यसरी, आफूले स्थलमै पहिलोपटक देखेजस्तो लागेको अभिलेख वास्तवमा करिब पाँच दशकअघि नै धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ मा प्रकाशित भइसकेको रहेछ । तथापि, प्रकाशित अभिलेख र त्यसको वर्तमान अवस्थाबिचको दूरीले एउटा अर्को गम्भीर प्रश्न भने मेरो सामु उभ्यायो – इतिहासको स्रोतका रूपमा प्रकाशित भइसकेको अभिलेखित शिला आज पनि भक्तजनहरूका पैतालोमुनि थिचिन बाध्य छ?

पाटन कुम्भेश्वरकै सोही अभिलेख मेरो अर्का गुरु हरिराम जोशीले पनि उहाँको पुस्तक ‘नेपालको प्राचीन अभिलेख’ मा प्रकाशित गर्नुभएको रहेछ । उहाँले उक्त अभिलेखको संक्षिप्त विवरण तथा कैफियतसहित यसको विश्लेषण पनि गर्नुभएको छ । जोशी (२०३०, सङ्ख्या १६९, पृष्ठ ६०५) ले गर्नुभएको टिप्पणी यस प्रकार छ –

पुण्य अभिवृद्धिका लागि तीनै लोकका गुरु भगवान्‌को प्रतिष्ठापन गरेको वर्णन यहाँ गरिएको छ । प्रस्तुत शिलालेखमा ‘भगवन्तम् त्रैलोक्यगुरुम्’ भनी उल्लेख गरिएबाट ईश्वर एक महान् शिक्षक छ भन्ने ऋग्वैदिक तथ्यको व्याप्ति प्रभाव उत्तरप्राचीनकालीन नेपालमा रहेको स्पष्ट हुन्छ ।

यसरी कुम्भेश्वरको दक्षिणपट्टीको पेटीमा आज उपेक्षित अवस्थामा रहेको यो अभिलेखित शिला कुनै सामान्य निर्माण सामग्री मात्र होइन रहेछ । यसले लिच्छविकालिन नेपालको धार्मिक, भाषिक तथा सांस्कृतिक इतिहासको एउटा अध्याय बोकेको रहेछ । अझ महत्त्वपूर्ण कुरा, यसको अभिलेखीय अस्तित्वबारे धनवज्र वज्राचार्य र हरिराम जोशीजस्ता अग्रज विद्वान्‌हरूले दशकौँअघि नै अध्ययन गरी प्रकाशित गरिसकेका रहेछन् । तर समयको लामो अन्तरालपछि पनि सोही ऐतिहासिक शिला जहाँको त्यहीँ, भक्तजनहरूका पैतालामुनि थिचिँदै, आफ्नो मौन इतिहास बोकेर बसिरहेको छ ।

अब यस शिलामा कुँदिएको मूल अभिलेख, त्यसको लिप्यान्तर, अनुवाद तथा यसमा निहित ऐतिहासिक धार्मिक पक्षतर्फ लागौँ ।

शिलामा कुँदिएको अभिलेख विवरण

अभिलेख कुँदिएको उक्त शिला आकारमा केही अनियमित छ । यसको दायाँतर्फको चौडाइ ३० से.मी. र बायाँतर्फको चौडाइ २८ से.मी. रहेको छ भने माथिल्लो भागको लम्बाइ ७४ से.मी. र तल्लो भागको लम्बाइ ६९ से.मी. रहेको छ । शिलामा उत्कीर्ण अभिलेख ७४ से.मी. रहेको छ । यसको लिपि उत्तरलिच्छवि र भाषा संस्कृत रहेको छ ।

उक्त अभिलेखित शिला कुम्भेश्वरमन्दिरको दक्षिणपट्टीको पेटीमा पैदल आवागमन हुने स्थानमा छापिन पुगेको अवस्थामा रहेको हुँदा दिनहुँ अगणितीय भक्तजनहरू यसैमाथि टेकेर आवतजावत गर्ने गरेका कारण शिलाको सतह क्रमशः घिसिँदै गएको छ । फलतः अभिलेखका केही अक्षरहरू मेटिइसकेका छन् भने बाँकी अक्षरहरू पनि क्रमशः अस्पष्ट हुँदै गइरहेका छन् । यस अवस्थाले अभिलेखको मूल पाठलाई मात्र क्षति पुर्‍याएको छैन, यसको भौतिक संरक्षण र भावी पुस्ताका लागि ऐतिहासिक स्रोतका रूपमा सुरक्षित राख्ने विषयमा समेत गम्भीर प्रश्न उठाएको छ ।

अभिलेखको प्रकाशन–इतिहास

कुम्भेश्वरमन्दिरको दक्षिणपट्टीको पेटीमा रहेको यस अभिलेखित शिलाको चर्चा यस अघि नै विभिन्न स्वदेशी एवं विदेशी विद्वान्‌का कृतिमा भइसकेको देखिन्छ । सर्वप्रथम Raniero Gnoli ले आफ्नो महत्त्वपूर्ण कृति Nepalese Inscriptions in Gupta Characters (Rome: Is. M.E.O., 1956) मा यस अभिलेखलाई अभिलेख सङ्ख्या ८६ का रूपमा प्रकाशित गरेका छन् । त्यसपछि धनवज्र वज्राचार्यले लिच्छविकालका अभिलेख (२०३०), अभिलेख सङ्ख्या १५७, पृष्ठ ५८३ मा यसको लिप्यान्तर तथा अनुवादसहित पुनः प्रकाशित गरेका छन् । हरिराम जोशीले नेपालको प्राचीन अभिलेख (२०३०), अभिलेख सङ्ख्या १६९, पृष्ठ ६०५ मा यस अभिलेखलाई संक्षिप्त विवरण तथा कैफियतसहित प्रस्तुत गरेका छन् । त्यसैगरी D.R. Regmi ले पनि यस अभिलेखलाई आफ्नो Inscriptions of Ancient Nepal, Vol. 1, Inscription no. CXLVI (146), P.157 मा प्रकाशित गरेका छन् ।

यस प्रकार एउटै अभिलेख विभिन्न विद्वान्‌का कृतिमा प्रकाशित भइसकेको देखिन्छ । यसले कुम्भेश्वरको उक्त शिला अप्रकाशित नभई नेपाली लिच्छविकालिन अभिलेख–परम्परामा पहिल्यै अभिलेखित र विद्वद्जगतमा परिचित स्रोत रहेको स्पष्ट पार्छ । तर विडम्बना के छ भने, विद्वान्‌हरूका कृतिमा सुरक्षित भइसकेको यसको पाठ ऐतिहासिक महत्त्वको हुँदाहुँदै पनि मूल अभिलेखित शिला भने आज पनि मन्दिरको पेटीमा भक्तजनका पैतालामुनि थिचिँदै, क्रमशः क्षय हुँदै गएको अवस्थामा छ । प्रकाशित ज्ञानको अन्तर्राष्ट्रिय संवेदनशीलता र स्थलमै भइरहेको स्थानीय, राष्ट्रिय उपेक्षा एवं संरक्षणहीनताको विरोधाभासलाई यसले उजागर गरेको छ ।

अभिलेखको लिप्यान्तरण

१= ॐ स्वस्ति पर[म–का]रण ======भगवतः [प्र]तिष्ठाद्अस्ति परम्पुण्यमिति मत्त्वा भगवन्तन्त्रैलोक्यगुरुम्

भावानुवाद

कल्याण होस् । परम कारणस्वरूप भगवान्‌को स्थापनाबाट परम पुण्य हुन्छ भन्ने मानी, तीनै लोकका गुरु भगवान्‌लाई ===

विश्लेषण

कुम्भेश्वरमन्दिर परिसरमा सप्तमातृका (ईस्वी दोस्रो–तेस्रो शताब्दी), सूर्यदेव (ईस्वी तेस्रो शताब्दी), वासुकी (ईस्वी चौथो शताब्दी), विष्णु (ईस्वी चौथो शताब्दी) लगायत उमा–महेश्वर (ईस्वी पाँचौँ शताब्दी) का प्राचीन प्रस्तरमूर्तिहरू विद्यमान छन् (बाङ्देल, २०३९, चित्र सङ्ख्या १६, १७, १८, १९, २०, ५२, ७१, ८१) । यी मूर्तिहरू नेपाली कलाका दुर्लभ तथा अत्यन्त प्राचीन नमुना हुन् ।

कुम्भेश्वरको प्राचीनताबारे बाङ्देल, रेग्मी, स्लुसर (Slusser, 1982, p. 356) लगायतका विद्वान्‌हरूले पनि चर्चा गरेका छन् । यसका साथै अभिलेखीय प्रमाणका दृष्टिले समेत कुम्भेश्वरमन्दिर परिसर महत्त्वपूर्ण देखिन्छ । परिसरमा विभिन्न कालखण्डका अभिलेखहरू प्राप्त भएका छन्, जसमध्ये हालसम्मको अध्ययन र अन्वेषणबाट अंशुवर्माकालीन उत्तरलिच्छविकालको अभिलेख नै यहाँ प्राप्त अभिलेखहरूमध्ये प्राचीनतम देखिएिआएको छ ।

यसरी कुम्भेश्वर परिसरमा रहेका प्राचीन प्रस्तरमूर्तिहरू र अभिलेखीय प्रमाणलाई एकसाथ राखेर हेर्दा, यस स्थलको धार्मिक–सांस्कृतिक महत्त्व हाल विद्यमान मन्दिरको वास्तु–निर्माणकालभन्दा धेरै पुरानो रहेको स्पष्ट सङ्केत मिल्छ । मन्दिर परिसरमा ने=सं=५१२ को शिलालेख छ । सो शिलालेख अनुसार हाल विद्यमान मन्दिर ने=सं= ५१२ (ईस्वी १३९२) मा पूर्वमध्यकालका एक प्रसिद्ध राजा जयस्थिति मल्लको पालामा निर्माण भएको थियो भन्ने कुरा थाहा पाइन्छ (Regmi, 1966, p. 33-35) । तापनि विशेषतः अंशुवर्माकालीन अभिलेखमा भगवान्‌को प्रतिष्ठासम्बन्धी उल्लेख हुनु र सोही परिसरमा ईस्वी दोस्रो–पाँचौँ शताब्दीसम्मका धार्मिक प्रस्तरमूर्तिहरूको विद्यमानताले कुम्भेश्वर क्षेत्र लिच्छविपूर्व तथा प्रारम्भिक लिच्छविकालदेखि नै धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित रहिआएको विदित हुन्छ । त्यसैले चौधौँ शताब्दीमा निर्मित/पुनःनिर्मित हालको कुम्भेश्वर मन्दिरलाई नै यस स्थलको धार्मिक इतिहासको प्रारम्भबिन्दु मान्नु सरासर ऐतिहासिक–भूल साबित हुनेछ । बरु, उपलब्ध मूर्तिकला, अभिलेख र परम्परागत प्रमाणहरूका आधारमा कुम्भेश्वरलाई दीर्घकालीन धार्मिक–निरन्तरता बोकेको प्राचीन शैव–धार्मिक स्थलका रूपमा स्वीकार गर्नु बढी विश्वसनीय र प्रमाणसम्मत देखिन्छ । यस प्रकार इतिहास र पुरातत्त्वका दृष्टिले कुम्भेश्वरक्षेत्रको धार्मिक परम्परा हालको मन्दिरको वास्तु–रूपभन्दा धेरै पुरानो देखिन्छ ।

कुम्भेश्वर अभिलेख : ‘परमकारण’, पाशुपत दर्शन र प्राचीन देवस्थान

कुम्भेश्वर मन्दिरको दक्षिणपट्टीको पेटीमा रहेको अंशुवर्माकालीन अभिलेखमा प्रयुक्त ‘परमकारण’/कारण पदावली विशेष ध्यान दिनुपर्ने दार्शनिक सङ्केत हो भन्ने देखिन्छ । लाकुलीश–पाशुपत परम्पराको पाञ्चार्थिक दर्शनमा ‘कार्य’, ‘कारण’, ‘विधि’, ‘योग’ र ‘दुःखान्त’ लाई पाँच प्रमुख तत्त्वका रूपमा प्रतिपादन गरिएको पाइन्छ (Pathak, 1960, p. 14-17) । यहाँ ‘कारण’ सामान्य कार्य–कारणसम्बन्धको संज्ञा मात्र नभई पाशुपत दार्शनिक चिन्तनमा परमेश्वर अर्थात् पशुपतिसँग सम्बन्धित तत्त्वगत अवधारणा हो भन्ने विदित हुन्छ ।

लिच्छविकालिन अभिलेखहरूमा ‘कारणपूजा’ भन्ने पदावली भेटिन्छ । तथापि कारणपूजा र पाञ्चार्थिक दर्शनको ‘कारण’ लाई समानार्थी ठान्नु उचित हुँदैन । ‘नित्यपूजा’ दैनिक गरिने पूजा हो भने ‘नैमित्तिक पूजा’ विशेष अवसरमा गरिने तन्त्रप्रधान पूजा हो । नैमित्तिक पूजाकै सदृश कारणपूजा हो । अभिलेखीय सन्दर्भमा ‘कारणपूजा’ विशेष अवसरमा गरिने पूजा अनुष्ठानका अर्थमा प्रयुक्त भएको देखिन्छ । यस अर्थमा कुम्भेश्वर अभिलेखको ‘परमकारण’ भने पृथक तहको, भगवान्‌को तत्त्वगत स्वरूप जनाउने पदावलीका रूपमा प्रयुक्त भएको देखिन्छ ।

अभिलेखमा ‘परमकारण भगवतः प्रतिष्ठाद्अस्ति परम्पुण्यमिति मत्त्वा भगवन्तन्त्रैलोक्यगुरुम् ===’ भनिनुले प्रतिष्ठित भगवान्‌लाई ‘परमकारण’ र ‘त्रैलोक्यगुरु’ जस्ता सार्वभौम विशेषणले सम्बोधन गरेको देखिन्छ । यसबाट उक्त देवता केवल स्थानीय आराध्य देवताका रूपमा मात्र नभई जगतको परम आधार तथा तीनै लोकका गुरुका रूपमा अवधारणाकृत थिए भन्ने धार्मिक–दार्शनिक चेतनाको सङ्केत प्राप्त हुन्छ । यस पदावलीलाई पाशुपत दर्शनको ‘कारण’ तत्त्वसँग तुलनात्मक रूपमा राख्न सकिन्छ ।

अंशुवर्माकालीन कुम्भेश्वर अभिलेखलाई केवल एउटा पृथक अभिलेखका रूपमा नहेरी कुम्भेश्वरक्षेत्रको प्राचीन शैव देवस्थानको अभिलेखीय साक्ष्यका रूपमा पुनर्विचार गर्न सकिन्छ । हाल ‘कुम्भेश्वर’ वा ‘सर्वेश्वर’ महादेवका रूपमा प्रतिष्ठित शैवधामको मूल धार्मिक परम्परा आज विद्यमान चौधौँ शताब्दीको पाँचतले मन्दिरभन्दा धेरै पुरानो हो । यद्यपि नेपालमण्डलका पाँचतले मन्दिरहरूमा सर्वप्राचीन कुम्भेश्वर मन्दिर नै हो । र, अंशुवर्माकालीन यो अभिलेख त्यस प्राचीन देवस्थानमा सम्पन्न देवप्रतिष्ठा एवं त्यससँग सम्बन्धित धार्मिक क्रियाकलापको अभिलेखीय साक्ष्य पनि हो ।

सुझाव

यति महत्त्वपूर्ण ऐतिहासिक अभिलेख आज भक्तजनका पैतालोमुनि थिचिँदै लोप हुने स्थितिमा पुगेको छ । आधा शताब्दीभन्दा लामो समयदेखि यो अभिलेखित शिला यसरी नै छापिन पुगेको देखिन्छ । यसको अभिलेखीय महत्त्वबारे पुरातत्त्वविद्, इतिहासकार तथा विद्वद्वर्गमा जानकारीसमेत रहेको देखिन्छ । सम्पदाविद् तथा संरक्षणविद्‌हरूको ध्यान पनि यसतर्फ गएको देखिन्छ । तथापि यसको वर्तमान अवस्थाले हामी सबैलाई एउटा असहज प्रश्न गरिरहेको छ – जानकारी हुँदाहुँदै पनि यसको संरक्षण किन हुन सकेन? साँच्चै भन्नुपर्दा, पैतालोमुनि थिचिँदै गरेको यो ऐतिहासिक शिलापत्रले हामी सबैको सम्पदा–चेतनालाई नै गिज्याइरहेको अनुभूति हुन्छ ।

हरेक दिन हजारौँ मानव पैतालाले थिचिँदै गरेको अंशुवर्माकालीन कुम्भेश्वरको यो अभिलेखित शिला असुरक्षित अवस्थामा रहेका अभिलेखहरूमध्ये पहिलो भने होइन, बरु, यस विषयमा मेरो अनुसन्धान–अन्वेषणका क्रममा भेटिएको कान्छो अभिलेख हो ।

यसैगरी मानव पैतालोले हरेक दिन कुल्चिँदै, थिचिँदै क्रमशः घिसिँदै र आफ्नो अस्तित्वको अन्तिम अवसानतर्फ पुगिसकेका उत्तरलिच्छविकालदेखि उत्तरमध्यकालसम्मका १० वटा असुरक्षित अभिलेखबारे तस्बिरसहितको मेरो अनुसन्धानात्मक लेख आजभन्दा करिब दुई दशकअघि पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपाल मा प्रकाशित भएको थियो (श्रेष्ठ, २०५८, पृष्ठ २४–४०) । उक्त लेख प्रकाशित भएको एक महिनापनि नबित्दै पुरातत्त्व विभागले तीमध्ये केही अभिलेखको उद्धार गरेर भक्तपुर राष्ट्रिय कला सङ्ग्रहालयमा सुरक्षित गरी प्रदर्शनमा राखेको छ ।

उद्धार गरिएका ती अभिलेखमध्ये भक्तपुरको प्रसिद्ध ङातापोल अर्थात् पाँचतले मन्दिरको प्रतिष्ठापनबारे प्रकाश पार्ने ने=सं=८२२ को, एकमात्र पुरातात्त्विक स्रोतका रूपमा रहेको शिलापत्र पनि थियो । उक्त शिलापत्र भक्तपुर राजदरबार परिसरमा सुरक्षामा खटिएका सैनिकहरू बस्ने सैनिक क्वार्टरतर्फ जाने सीढीमा सामान्य शिलाफलकसरह छापिन पुगेको थियो र सैनिकहरू त्यसैमाथि दिनहुँ बुट बजाउँदै ओहोरोदोहोरो गर्दथे । आज त्यही शिलापत्र भक्तपुर राष्ट्रिय कला सङ्ग्रहालयमा सुरक्षित छ । यसको उद्धार तथा संरक्षणका लागि पुरातत्त्व विभागप्रति धन्यवाद–ज्ञापन गर्नैपर्छ ।

अब यस्तै एउटा जिम्मेवारी पुरातत्त्व विभागका सामु पुनः उपस्थित भएको छ – कुम्भेश्वरको अंशुवर्माकालीन यो शिलाको उद्धार तथा संरक्षण । आशा छ, यो लेख प्रकाशमा आएपछि यस अभिलेखको वर्तमान अवस्थातर्फ पनि सम्बन्धित निकायको ध्यान जानेछ र यसको शीघ्र उद्धार हुनेछ ।

अभिलेख मानव इतिहास र सभ्यताको मौन साक्षी हो । यो मानव जातिकै साझा ज्ञान–सम्पदा र राष्ट्रको गौरवमय ऐतिहासिक पहिचान हो । कुनै भौतिक सम्पदा जति महत्त्वपूर्ण हुन्छ, त्यस सम्पदासँग सम्बन्धित अभिलेख पनि उत्तिकै मूल्यवान् हुन्छ, किनकि अभिलेखले सम्पदाको इतिहास, समय, दाता, धार्मिक विश्वास, सामाजिक अवस्था र तत्कालीन समाजबारे प्रत्यक्ष वा प्रकारान्तर सूचना सुरक्षित राखेको हुन्छ । यस दृष्टिले कुम्भेश्वर मन्दिर जति महत्त्वपूर्ण छ, त्यसको इतिहास बोकेको र आज हरेक दिन घिसिँदै–मेटिँदै गएको यो शिलालेख पनि उत्तिकै महत्त्वपूर्ण छ । मन्दिरलाई जोगाएर अभिलेखलाई मेटिन दिनु सम्पदा संरक्षणको पूर्णता होइन ।

अतः म पुनः पुरातत्त्व विभाग, ललितपुर महानगरपालिका, कुम्भेश्वर मन्दिर व्यवस्थापन तथा सम्बन्धित स्थानीय बासिन्दा सबैसमक्ष विनम्र अनुरोध गर्दछु – यस अभिलेखित शिलालाई यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा संरक्षण गरियोस् । सम्भव भए यसलाई सङ्ग्रहालयमा सुरक्षित राखियोस्, अथवा सरोकारवाला स्थानीय बासिन्दासँग आवश्यक छलफल गरी कुम्भेश्वर परिसरमै सबैले देख्न, पढ्न र अध्ययन गर्न सक्ने गरी उपयुक्त संरक्षणात्क व्यवस्था मिलाइयोस् । यसबाट यस अभिलेखित शिलाको भौतिक अस्तित्व मात्र जोगिने छैन, त्यसमा सुरक्षित रहेको अभिलेखीय ज्ञान–सम्पदा पनि भावी पुस्ताका लागि संरक्षण हुनेछ । आज एउटा असुरक्षित अभिलेखित शिलालाई पैतालोमुनिबाट उठाउनु भनेको भोलिका पुस्ताका लागि आफ्नो इतिहास जोगाउनु हो ।

अन्त्यमा, यति महत्त्वपूर्ण तथा मूल्यवान् अभिलेखित शिलाबारे जानकारी गराई यसको अध्ययन र संरक्षणतर्फ मेरो ध्यानाकर्षण गराइदिनुहुने श्री राजाराम गोसाईंज्यूलाई पुनः हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

सन्दर्भ–स्रोत

  • Gnoli, Raniero, (1956), Nepalese Inscriptions in Gupta Characters, Roma : Is.M.E.O.

  • जोशी, हरिराम, (२०३०), नेपालको प्राचीन अभिलेख, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

  • बाङ्देल, लैनसिंह, (२०३९), प्राचीन नेपाली मूर्तिकलाको इतिहास, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

  • Regmi, D.R. (1966), Medieval Nepal, Part III, Calcutta : Firma K.L. Mukhopadhyay.

  • Regmi, D.R., (1983), Inscriptions of Ancient Nepal, Vol. 1, New Delhi : Abhinav Publications

  • वज्राचार्य, धनवज्र (२०३०), लिच्छविकालका अभिलेख, कीर्तिपुर : नेपाल र एसियाली अनुसन्धान केन्द्र ।

  • Slusser, Mary Shepherd, Nepal Mandala, Vol. 1, New Jersey : Princeton University Press.

  • Pathak, V.S., (1960), Shiva Cults in Northern India, Varanasi : Dr. Ram Naresh Varma.

  • श्रेष्ठ, पुरुषोत्तमलोचन (२०५८), ‘भक्तपुरका असुरक्षित अभिलेख’, प्राचीन नेपाल सङ्ख्या १४७, पृष्ठ २४–४० ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *