भक्तपुर । नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाबीच भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणबारे छलफल भयो ।
छलफलमा संघीय सांसद सुवालले मानव बस्तीभित्र अवस्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण फाल्ने उद्योगहरू जनताको चाहनाबमोजिम स्थानान्तरण हुनुपर्ने र नेपो इण्डष्ट्रिजलगायतबाट स्थानीय जनता पीडित भएको हुँदा त्यस्ता टेक्सटाइल र डाइङलगायत ध्वनी धुलो फाल्ने उद्योग सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।
साना औद्योगिक क्षेत्रको रुपमा स्थापित उक्त उद्योग क्षेत्रमा अपारदर्शी ढंगले काम भइरहेकोमा आपत्ति जनाउँदै सांसद सुवालले मानव बस्तीभित्र सञ्चालित उद्योगहरूले जनताको चाहनाबमोजिम सञ्चालन हुनुपर्नेमा औद्योगिक क्षेत्र व्यवस्थापन लि. को ध्यानाकर्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ढिलो न्याय दिनु अन्याय भएको बताउनुहुँदै जनताको गुनासो सम्बन्धित निकायबाट समयमै सम्बोधन नभए अराजकता ल्याउन सक्नेतर्फ ध्यानाकृष्ट गर्नुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक नगरभित्र सञ्चालित सो उद्योगहरूले पर्यटकीय नगरमा नकारात्मक असर पारिरहेको बताउनुहुँदै नेपो उद्योगलाई ध्वनी र धुँवा प्रदूषण नहुने गरी बिहान १० देखि ५ बजेसम्म चलाउने निर्देशन दिइएकोमा कार्यान्वयन नभएको हुँदा तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणको विषयमा उद्योग मन्त्रालयले समिति गठन गरी आवश्यक निरीक्षणपश्चात कसरी अगाडि बढ्नु उचित हुने टुंगो लाग्ने बताउनुभयो । कुनै पनि उद्योग स्थानीयको चाहनाविपरीत अगाडि बढ्न नसक्ने बताउनुहुँदै सिटौलाले दर्ताविना सञ्चालन भएका उद्योगहरू कानुनको दायरामा आउने प्रष्ट पार्नुभयो ।
छलफलमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका सृजना श्रेष्ठ, कार्यालयका निर्देशक सञ्जयलाल मानन्धर, भक्तपुर नपाका कर्मचारी गौतमप्रसाद लासिवा र पीडित स्थानीय विनोदचरण रायको पनि उपस्थिति रहेको थियो ।








