चाँगुनारायणमा तार चोरी गर्ने तीन जना पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ न्यौपाने गाउँस्थित डिशहोम नेटमा काम गर्ने तीन जनालाई नेपाल टेलिकमको तामाको तार चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले नेपाल टेलिकमको २१ मिटर तामाको तार काटेर बा.प्र.०१–०२९ च ०५७३ नम्बरको गाडीमा राखेको तथा थप १२० मिटर तार काटी क्षति पुर्‍याएको अवस्थामा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको टोलीले फेला पारेको हो।

प्रहरीले भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ का ३० वर्षीय कुमार भुजेल, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ का २९ वर्षीय रबिन्द्र बि.क. र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का ३० वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ। तामाङ उक्त गाडीका चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई चोरी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेको थियो। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *