संविधान दिवसलाई भव्य रुपमा बनाउन बागमती प्रदेशको अपिल

हेटौडाः संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ बागमती प्रदेश मूल समारोह समितिले नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भई १२औँ वर्ष प्रवेशको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवसलाई भव्य र सभ्य रुपमा मनाउन अपिल गरेको छ।
समितिले बागमती प्रदेशका सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सार्वजनिक संस्था, शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज तथा आम प्रदेशवासी नागरिकहरूलाई असोज २ र ३ गते साँझ आ आफ्नो घर, कार्यालय तथा सार्वजनिक स्थलमा दीप प्रज्वलन गरी राष्ट्रिय एकता, लोकतान्त्रिक भावना र उत्साहका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन अपिल गरेको हो।
असोज २ गते शुक्रबार र ३ गते शनिवार सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाले आफनो परिसर सरसफाई गर्ने, नगर क्षेत्रको बिशेष सरसफाई गर्ने जिम्मेवारी बागमती प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयले लिएका छन् । ती दुवै दिनमा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाका कार्यालयहरुको छत, वरण्डा र परिसरमा निर्धारित ढाँचाका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ । ती दुवै दिनमा प्रदेशबासी आम नागरिकहरुलाई पनि साँझ आ आफनो घर परिसरमा दीपावली गर्न मूल समारोह समितिले आब्हान गरेको छ । समितिको निर्णय अनुसार प्रदेश राजधानी हेटौडाको बुद्धचोक र बसपार्कमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम छ ।
संविधान दिवसका दिन असोज ३ गते शनिवार बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राङगणमा संविधान दिवस एवं राष्ट्रिय दिवस २०८३ प्रदेशस्तरिय मूल समारोह आयोजना गरिनेछ । समितिको निर्णय अनुसार सो समारोहमा स्थानीय संस्कृति तथा भेषभुषा झल्कने झाँकी प्रदर्शन गरिनेछ । उक्त समारोहमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासहित मुख्यमन्त्री किरण थापामगर, निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानिया, बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति रहनेछ । समारोहमा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरु शालिकराम जम्कट्टेल, बहादुर सिंह लामा,राजेन्द्र प्रसाद पाण्ड र अष्टलक्ष्मी शाक्य, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा बिभिन्न बिषयगत समितिका सभापति र प्रदेशसभाका सदस्यहरुलाई आमन्त्रण गरिएको मूल समारोह समितिले जनाएको छ ।
मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकको निर्णय अनुसार संविधान दिवसका अवसरमा स्वास्थ्य तथा सामाजिक बिकास मन्त्रालयले असोज १ गते बिहिबार संम्बैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको भूमिका बिषयक बिद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्नेछ । निबन्ध प्रतियोगिताका बिजेता बिद्यार्थीहरुलाई मूल समारोहको कार्यक्रममा पुरस्कार वितरण गर्ने कार्यक्रम छ।
खेलकुद विकास परिषद् र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले बिहिबार नै मुख्यमन्त्री किरण थापामगर र प्रमुख सचिव कमल प्रसाद भट्टराई नेतृत्वको टिम वीच मैत्रीपूर्ण फुटसल खेल आयोजना गर्नेछ । असोज २ गते नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्नेछ । कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले बृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *