काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ ।
काठमाडौँ महानगरपालिकामा प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । काठमाडौँ महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले पनि सोही निर्णय गरेको थियो । त्यसैलाई निरन्तरता दिदैँ आज प्रमुख शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो ।
प्रमुख शाक्यले सबै वडा भवन बनाउने कार्यक्रम अन्तर्गत वडा वडा–१८ को उद्घाटन भै सकेको जानकारी दिनुभयो । ‘आज वडा–९ उद्घाटन भयो,’ शाक्यले भन्नुभयो, ‘वडा–२६, ३, ४ र १४ को भवन निर्माण सम्पन्न भएको छ । ती भवन पनि छिटै उद्घाटन गर्ने तयारीमा छौँ ।’ काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ भने भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा रहेका छन् । वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ भने वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ । केही दिन अघि मात्रै प्रमुख शाक्यले नै वडा २२ को वडा कार्यालय भवन शिलान्यास गर्नुभएको थियो ।
उहाँले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो ।
उहाँले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने काठमाडौँ महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो । ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए,’ उहाँले भन्नुभयो, ‘९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए । तर, हामीले संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रतापमल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ ।’
कार्यक्रममा सम्वोधन गर्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करीब ४५ वर्षदेखि जिर्ण रहेको भवनबाट सेवा दिदैँ आएका वडा–९ ले सुविधान सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । वडा सदस्य सिर्जना भेटवालले जिर्ण भवनबाट पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएको स्मरण गराउँदै कोभिड–१९ को जोखिमका बेला सुविधा सम्पन्न भवनबाट सेवा दिने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले वडाका जनप्रतिनिधि र वडावासीका लागि आजको दिन ऐतिहासिक भएको पनि स्मरण गराउनुभयो ।










