भक्तपुरको ऐतिहासिक श्री नवदुर्गा देवगण जात्राको शुभारम्भ

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर नगर आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, परम्परा, कला र जीवित संस्कृतिका कारण विश्वभर परिचित छ। नाचगानको राजधानीका रूपमा परिचित भक्तपुर अष्टमातृका देवीहरूले घेरिएको सांस्कृतिक नगर हो, जहाँ वर्षभरि विभिन्न जात्रा, पर्व, पूजा तथा धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदै आएका छन्।

यिनै अमूल्य सांस्कृतिक सम्पदामध्ये नेपालकै सबैभन्दा लामो समयसम्म सञ्चालन हुने जीवित परम्पराका रूपमा पूजिने श्री नवदुर्गा देवगण जात्रा विशेष महत्वको मानिन्छ। हरेक वर्ष श्रावण महिनामा नवदुर्गा देवगणको नामकरण अथवा जन्मको प्रतीकस्वरूप यस जात्राको शुभारम्भ गरिन्छ।

यस वर्ष पनि मिति २०८३ साल श्रावण १७ गते आइतबार नवदुर्गा देवगण जात्राको औपचारिक शुभारम्भ सम्पन्न भयो। सोही दिन बिहान करिब १० बजे नवदुर्गा मन्दिरमा यस वर्ष पालो आउने सम्पूर्ण देवगण (उजाजु) हरू भेला भई देवगणको पालो निर्धारण गर्ने परम्परा अनुसार कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा जोशी (जुशीबजु) को प्रमुख आतिथ्यतामा लिपिबद्ध बनसाली नामावली सार्वजनिक गरी यस वर्षका देवगणहरूको पालो निर्धारण गरिएको थियो। त्यसपछि जुशीबजुको उपस्थितिमा विधिपूर्वक लिपिबद्ध गर्ने कार्य सम्पन्न गरियो।

परम्पराअनुसार यस वर्ष पहिलो पालो ब्रह्मायणी देवगणको रहेको छ। ब्रह्मायणी देवगणले सर्वप्रथम ब्रह्मायणी पीठ मन्दिरमा विशेष पूजा सम्पन्न गरी जोशी (जुशीबजु) बाट प्रसाद ग्रहण गर्छन्। त्यसपछि सम्पूर्ण देवगणलाई प्रसाद वितरण गरिने परम्परा रहिआएको छ।

ऐतिहासिक मान्यताअनुसार मानव जीवनमा जन्म र मृत्यु अपरिहार्य सत्य हुन् भन्ने सन्देश दिन तथा जीवनचक्रप्रतिको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले नवदुर्गा देवगण जात्राको परम्परा विकसित भएको मानिन्छ।

यो जात्रा वर्षको आठ महिनासम्म मुकुण्डो (मुखौटा) सहित विभिन्न टोल–टोलमा नाच प्रदर्शन गर्दै सञ्चालन हुन्छ। बाजागाजाको ताल, नृत्यको लय, भाषा र धार्मिक विधिको संयोजनले मानव समाजको विकाससँगै संस्कार, अनुशासन र सामाजिक एकतालाई निरन्तरता दिँदै आएको छ। बाँकी चार महिनामा भने मुखौटा बिना विभिन्न पर्व, तिथि तथा विशेष अवसरमा पूजा र नाच प्रदर्शन गर्ने परम्परा कायम छ।

इतिहासका विभिन्न कालखण्डमा धेरै जात्रा र संस्कृतिमा समयअनुसार केही परिवर्तन भएका देखिए पनि नवदुर्गा देवगण जात्रा भने आफ्नो मौलिक स्वरूपलाई जोगाउँदै आएको सांस्कृतिक सम्पदा हो। देवगणहरूको भनाइअनुसार प्राचीन कालदेखि सञ्चालन हुँदै आएको यस परम्परामा मूल स्वरूपमा खासै परिवर्तन गरिएको छैन।

यद्यपि यस सांस्कृतिक सम्पदालाई संरक्षण र निरन्तरता दिन देवगणहरूले अनेक चुनौतीहरूको सामना गरिरहेका छन्। शिक्षा, रोजगारी, व्यवसाय, स्वास्थ्य, आधुनिक जीवनशैली, आर्थिक अभाव तथा देवगणहरूको भविष्यको सुनिश्चितता जस्ता समस्याका बाबजुद उनीहरूले पुस्तौंदेखि नेपालको अमूल्य सांस्कृतिक धरोहरलाई जोगाइराखेका छन्।

भक्तपुरको पहिचानसँग अभिन्न रूपमा जोडिएको श्री नवदुर्गा देवगण जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली सभ्यता, संस्कृति, कला, सामाजिक एकता र जीवित सम्पदाको उत्कृष्ट उदाहरण हो। यस परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु सम्पूर्ण समाजको साझा दायित्व हो।

लेखक : नारायणमान बनमाला
सल्लाहकार
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *