एभरेस्ट स्कुलका विद्यार्थीको मुठीदानबाट ३० हजार वढी नगद र झण्डै चार सय केजी चामल संकलित ः संकलित दान मुनीविहारमा पु¥याइयो
बैशाख २१, २०८०, बिहीबार | दिउँसो ०१:१६ बजे | 100
भक्तपुर । भक्तपुरको एभरेस्ट इगलिश स्कुलकी कक्षा ९ की छात्रा साम्भवी सापकोटा बिहीबार विशेष खुशी देखिन्थिन् । सधै कक्षा कोठामा पढ्ने उनी फरक कार्यक्रम भएर मात्रै होइन, दान गर्न पाउँंदा हर्षित् भएकी हुन् । हसिँंलो मुद्रामा भेटिएकी उनले भनिन्, ‘स्कुलले नियमित पठनपाठनका अलावा विभिन्न अतिरिक्त कार्यक्रमहरु पनि गरिरहेको हुन्छ तर आज (विहीबार) को कार्यक्रम चाहिं विशेष खुशीको कार्यक्रम रहयो ।
बुद्ध जयन्तीको अवसरमा स्कुलले मुठीदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस अनुसार मुनि विहार भक्तपुरका भिक्षु श्रामणेरहरुलाई भिक्षा लिनका लागि आमन्त्रण गरिएको थियो । त्यस अनुसार आमन्त्रित भिक्षु श्रामणेरहरुलाई भिक्षादान दिन पाउँंदा साम्भवीको मन खुशी भएको हो, सफा भएको हो ।
स्कुलमै कक्षा ८ मा अध्ययरत छात्र प्रनिश लामिछानेले दान गर्न पाउँंदा मन नै सफा भएजस्तो महशुश भएको बताए । ‘असाध्यै आनन्दको अनुभब भएको छ, पैसा र चामल दान गरेको बताउने उनले भने, ‘कार्यक्रमले दानको महत्व भित्री मनबाट महशुश गर्न पाइयो ।’
मुठीदान कार्यक्रममा साम्भवी र प्रनिश जस्तै स्कुलमा अध्ययनरत एक हजार दुई सय भन्दा वढी विद्यार्थी सहभागी भएका थिए र खुशी पनि ।
दानको महत्व बुझाउन स्कुलका विद्यार्थीलाई मुठीदान गराइएको थियो । बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीलाई यसअघि नै कार्यक्रमबारे जानकारी गराइएको थियो । जानकारी अनुसार विद्यार्थीले दान गरेका थिए । विद्यार्थीले आआफनो गच्छेअनुसार पैसा, चामल, विस्कुट, फलफूल, तेल, नुनलगायतका खाद्यान्न दान गरेका थिए ।
दानका लागि मुनि विहार इनाचोका एकजना भिक्षुसहित १६ जना श्रामनेरहरू स्कुल पुगेका थिए । भिक्षु अर्जुनको नेतुत्वमा विहारका श्रामनेरहरु स्कुल पुगेका थिए । लहरै मेचमा बसेका उनीहरुलाई विद्यार्थीले लाइन लागेर दान गरेका थिए । एक हजार वढी विद्यार्थी भएकोले दान कार्यक्रम एक घण्टा भन्दा वढी लम्विएको थियो ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । दान नै धर्म हो भनेर विद्यार्थी उत्साहपूर्वक दानमा सहभागी भएका थिए, उनले सुनाए, यही कारण दान गरेको विद्यार्थीले बताएका छन् ।
दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नर्गनु, झुठो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । कार्यक्रम सकेपछि विद्यार्थीलाई दानको महत्व, बुद्धको उपदेशबारे प्रत्यक्ष प्रबचन सुनाइएको थियो । भिक्षु अर्जुनले प्रबचन सुनाएका थिए । झण्डै तीन दर्जन कक्षाहरुमा एकैचोटी कक्षाकक्षामा व्यवस्था भएको माइकमार्फत भिक्षुले प्रवचन दिएका थिए । भिक्षु अर्जुन स्कुलको शिक्षक कक्षामा वसेर दिएको प्रवचन माइकमार्फत स्कुलको कक्षाकक्षामा पुगेका थियो ।
कार्यक्रममा ठूलो मात्रा चामल, विस्कुटलगायतका खाद्यान्न उठेको थियो । यही कारण विद्यार्थीबाट संकलित दानलाई स्कुलले नै भ्यान गाडीको व्यवस्था गरी मुनि विहार इनाचो भक्तपुरमा पुयाइदिएको थियो । साथै दानमा सहभागी भिक्षु, श्रामणेरहरुलाई पनि स्कुलको गाडीमा राखेर विहार पुयाइदिएको थियो ।
मुठीदानबाट ३० हजार भन्दा वढी नगद संकलन भएको थियो । साथै साथै पाँंच मुरी (तीन सय ७५) केजी धान संकलन भएको थियो ।