मध्यपुरमा संस्थागत विद्यालयहरुको २०८० सालको शुल्क निर्धारण


बैशाख १४, २०८०, बिहीबार | साँझ ०४:१२ बजे | 45


मध्यपुरमा संस्थागत विद्यालयहरुको २०८० सालको शुल्क निर्धारण

भक्तपुर, १४ बैशाख । मध्यपुर थिमी नगरपालिकामा रहेको संस्थागत विद्यालयहरुको २०८० सालको शुल्क निर्धारण गर्न नगर शिक्षा समितिले २०७९ चैत १९ गते गठित संस्थागत विद्यालयको शुल्क निर्धारण सिफारिस समितिले शिक्षा समितिका संयोजक एवम् नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई प्रतिवेदन बुधवार प्रमुखको कार्यकक्षमा नै बुझाएको छ ।
 सोहि अवसरमा प्रमुख सुरेन्द्र श्रेष्ठले सिफारिस अनुसार नियम बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नियम कानुन परिधि भित्र रहेर विद्यालय संचालन गर्नुपर्नेमा दुईमत नभएको बताउँदै सिफारिस समितिले गरेको शुल्क निर्धारण कार्यान्वयन गर्न तत्कालै शिक्षा समितिको बैठक बसेर निर्णय गर्ने बताउनु भयो । उहाँले संस्थागत विद्यालय अर्गानाइजेसनहरु प्याब्सन लगायत जो सुकै भएपनि कानुनको दायरामा ल्याउने र उनीहरुको मानोमानीलाई निरुत्साहित गरी बहुमत अभिभावक र विद्यार्थीहरुको हितमा काम गर्ने बताउनुभयो ।
शुल्क निर्धारण सिफारिस समितिमा संयोजक मध्यपुर थिमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष सानुकाजि राजवाहाकको संयोजकत्वमा वडा नं २ वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, वडा सदस्य शर्मिला विश्वकर्मा, उजला थापा श्रेष्ठ सदस्य र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट रहने गरी गठन गरी विभिन्न विद्यालयहरु अनुगमन गरी प्रतिवेदन तयार गरी पेश गरेको थियो । 
शुल्क निर्धारण सिफारिस समितिका संयोजक सानुकाजि राजवाहाकले विभिन्न विद्यालयको स्थलगत अनुगमन गर्दा विद्यालयमा पेश गरेको शुल्क प्रस्तावको अध्ययन गरी सरोकारवालहरुसंग छलफल र निजी विद्यालय अर्गनाजेसन नेपाल तथा अन्य प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरुसंग समेत छलफल समेत गरी प्रचलित कानुनले तोकेको सुचकहरुका आधारमा नभएकोले पुनःपेश गर्न तीन दिनको समय समेत दिएको बताउनुभयो । 
त्यस्तै अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले छोटो समयमा र निकै व्यस्तताकाबीच प्रतिवेदन तयार गरेको बताउँदै अभिभावकहरुको गुनासो आएकोले शुल्क प्रस्ताव बैज्ञानिक  र कानुन सम्मत नरहेको, विद्यालय व्यवास्थापन समिति गठन गरी त्यसले शुल्क प्रस्ताव पास गरी पेश नगरेको, मासिक शुल्क र अन्य शुल्क हचुवाको भरमा निर्धारण गरी पेश गरेको, गत बर्ष भन्दा नपेक्षित शुल्क बढाईएको, भर्ना शुल्क र बार्षिक शुल्क दुबै लिने गरेको, धरौटी र भर्ना शुल्क कानुनले तोकेको सीमा भित्र नरहेको र नगरपालिकामा शुल्क प्रस्ताव पेश गरे अनुसार शुल्क शिर्षक नदेखिएको र अभिभावकहरुले बुझाएको फरक देखिएकोले गत बर्ष भन्दा दश प्रतिशत भन्दा शुल्क बृद्धि गर्न नहुने र शुल्क प्रस्ताव पेश नगर्ने र नगरपालिकाद्धारा निर्धारित शुल्क कार्यान्वयन नगरेको वा अटेरी गरेको देखिएमा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ को नियम १६ एवम् मध्यपुर नगरपालिकाको शिक्षा ऐन २०७९ बमाजिम कार्वाही गरिनुपर्ने सुझाब सहित पेश गरेको बताउनुभयो । 
कार्यक्रममा समितिका सम्पूर्ण सदस्यहरु सहभागी थियो । 

Comments