काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कानुन विपरित काम गर्ने ह्याचरी उद्योग संघमाथि कारबाही गर्न माग गरेको छ । मञ्चले मुख्य सचिव समक्ष यसका लागि निवदेन दिएको छ ।
निवेदनको पूर्ण पाठ यसप्रकार छ ।
उपरोक्त बिषयमा आम उपभोक्ताको सरोकारको बिषयमा सशक्त रुपमा आवाज उठाउद प्रतिस्पर्धात्मक बजारको निर्माण गरी इमान्दार व्यवसायीहरुलाई प्रोत्साहन गर्ने र उपभोक्तावर्गलाई सहजरुपमा सुलभ मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा उपलव्ध गराउनको लागी यस मन्चल बिभिन्न बिषयवस्तुहरुलाई लिएर नेपाल सरकारको सम्बन्धीत निकायहरुमा गुनासो, सुझाव तथा उजुरीहरु आवश्यक व्यवस्थापन एवं सुनुवाईको लागी प्रेशित गर्ने काम गर्दै आएको व्यहोरा श्रीमानमा अवगत नै भएको होला ।
प्रस्तुत बिषयमा निवेदन छ कि नेपालमा दूध र कुखुराको मासुमा आत्मनिर्भर हुन लागेको वा भई सकेको अवस्था देखिएता पनि यो व्यवसायिक क्षेत्र भित्र धेरै अनियमित कृयाकलाप हुनुको साथै अनुचित व्यापारिक कार्य समेत हुंदै आएकोछ । बिशेष गरी कुखुराको मासुमा आम उपभोक्ता व्यापक रुपमा ठगिनु साथै सर्वसाधारण किसान समेत अत्यन्त मारमा पर्दै आएको व्यहोरा निवेदन गर्दछौं ।
नेपालका सर्वसाधारण वा व्यवसायिक किसानहरुले कुखुरा पालन गर्नको लागी बजारबाट प्रतिस्पर्धात्मक मूल्यमा कुखुराको चल्ला पाउनु पर्ने व्यवसायिक अधिकारलाई कुण्ठित गर्दै नेपाल ह्याचरी उद्योग संघको नाममा किसानलाई बिक्रि गरिने चल्लाको मूल्यमा चरम शोषण गरिरहेकोछ भने सरकारलाई स्वदेशी उद्योगलाई संरक्षण दिलाउने नाममा बिदेशबाट चलाउन ल्याउनै नपाउने नियम बसालेर मूल्य, गुणस्तर र परिमाणमा ठग्नु सम्म ठगी रहेको पाइएकोछ ।
नेपालमा प्रति दिन अन्दाजी ४५ हजार किलो कुखुराको मासु खपत हुने तथ्यांकको अनुपातमा कुखुराको चल्ला पनि उत्पादन वा बिक्रि बितरण हुने अनुमान गर्न सकिन्छ । त्यस्तो चल्ला उत्पादन गर्ने स्वदेशका केही ह्याचरी उद्योगहरु मिलेर नेपाल ह्याचरी उद्योग संघ नामक संस्थाबाट चल्लाको मूल्य तोक्ने र सरकारलाई समेत दवाव दिई बिदेशबाट आयात हुने चल्ला नेपालमा प्रवेश नै गर्न नदिने काम गर्दै आएकोछ ।
ह्याचरी उद्योगसंग सम्बध्द किसानहरुका अनुसार एउटा चल्लाको लागत मूल्य अधिकतम ३५ देखि ४५ रुपैया मात्र पर्दछ । त्यस्तै भारतबाट गुणस्तरीय चल्ला आयात गरेमा प्रति चल्लाको मूल्य १८ रुपैयां र लागत मूल्य समेत जोडदा ३५ रुपैयां मात्र पर्दछ । तर नेपाल ह्याचरी उद्योग संघले मूल्यमा कार्टेलिंग गरी प्रति चल्लाको मूल्य १०० रुपैयां लिने गरेको पाइएकोछ ।
स्वदेशी उद्योगलाई प्रोत्साहन पाउनु पर्ने अधिकारको मांग राखी प्रतिस्पर्धात्मक बजारलाई कण्ठित गर्दै सस्तो र गुणस्तरीय चल्ला भारतबाट आयत गर्न पनि नदिन सरकारलाई दवाव दिई आयातमा नै प्रतिबन्ध लगाउने र प्रतिस्पर्धामा बिश्वास गर्ने स्वदेशी ह्याचरी उद्योगबाट उत्पादित चल्लालाई पनि बजारमा प्रवेश निषेध गर्ने काम गरी पूर्णत कार्टेलिंग गरी किसानलाई शुरुको लगानीमा नै दुगुणा भन्दा बढि मूल्यको लागत पर्ने गरी ठग्दा बजारमा कुखुराको मासु अस्वाभाविक रुपमा मूल्य बृध्दि हुने गरेको पाइएकोछ । यसरी खुलेआम संस्थागत रुपमा अनुचित व्यापारिक कृयाकलाप गर्ने, मूल्यमा कार्टेलिंग गरी कृत्रिम मूल्य बृध्दि गर्ने र प्रतिस्पर्धात्मक बजारलाई कुण्ठित बनाई व्यापारिक लाभ लिने काम गरेको देखिएको हुंदा यस बिषयमा श्रीमानको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्दै उपभोक्ता संरक्षण ऐन, २०७५, प्रतिस्पर्धा प्रवध्र्दन तथा बजार संरक्षण ऐन २०६५ लगायत प्रचलित कानून बमोजिम कारवाही गरी स्वस्थ र स्वस्थ प्रतिस्पर्धात्मक बजार निर्माणको लागी आवश्यक पहल गरी पाउन हार्दिक अनुरोध गर्दछौं ।
...

All Comments.......


Please Login/Register To Comments