रचना मोक्तान “यात्री“
वर्तमानमा उभिएर विगत १५ वर्ष अघिको समय चियाउदैछु ।  आजको दिन मेरो लागि यमराजको ढोका बन्द र अन्य सहयोद्धाको लागि खुल्ला भएको दिन । आकस्मिक हमला भएको  दिन ।  हामीले असिना वर्षीएसरि गोली र चट्याङ परे सरि बमको धमका अनि बारुदको कालो मुस्लोले दिउँसै सूर्य अस्ताएको जस्तो अन्धकारको सामना गरेको दिन । म सम्झिदै छु त्यही कहाली लाग्दो घटना   सिन्धुपाल्चोक जिल्ला ठोकर्पाको । जुन घटनाले आज सम्म मेरो मथिङ्गल हल्लाएको छ । सम्झँदा पनि आँखा रसाउन पुगेको छ । साँच्चै भन्नु पर्दा १५ वर्ष  कति चाँडै बितेछ । म आज पनि ती बितेको पल सम्झिदै वास्तविकतामा हराउदैछु ।
          सोच्नेले सोच्लान कसैले नलडेको युद्ध लडेछ । कसैले भन्लान कति युद्धको कुरा गर्न सकेको । सँधै उही कुरा भन्लान् । जसले जे सुकै सोचून । जे सुकै भनून । जेसुकै देखून । मैले निर्मम भएर इतिहासको पाना पल्टाउनै पर्छ । भोगेको दुःख  सुनाउनै पर्छ । पलपलमा बाँचेको जिन्दगीको कहानी  सुनाउदै गयो भने दन्त्य कथा भन्दा कम छैन । आज म त्यही कहानी सुनाउदै छु । कहानी यो मानेमा सुनाउदै छु  कि हिजो जनयुद्धको बेला बा–आमाको न्यानो काखमा बसी  महङ्गो बोर्डिङ स्कुलहरुमा पढीरहेका । देश विदेश घुमिरहेका । एनजीओ आइ एनजीओमा जागिर खाइ रहेका मान्छेहरुले आज क्रान्ति सम्पन्न गरेको अनि सभा समारोहहरुमा कान्तिको ठूलो गफ हाँकेका देख्दा ताजुब लागेर आउँछ ।  उनीहरुलाइ के थाहा ? युद्ध भयानक, असोचनीय र अकल्पनीय हुन्छ भनेर ।  युद्ध सिनेमा हेरेको जस्तो पक्कै हुन्न । लडाइँ  सिनेमाको पर्दामा देखे जस्तो सरल थिएन । बाहिरबाट देखेको जस्तो पटक्कै हुँदैन ।  हो ! आज यिनै युद्धहरु मध्येको एक आकस्मिक युद्धको कुरा गर्दैछु ।
           रणनैतिक प्रत्यक्रमणको दोस्रो चरण । देशभरी नै जनयुद्धको आगो बलिरहेको थियो । २०६२ साल चैत्र आठ गते काभ्रे जिल्लाको दाह्रेगौंडा दाप्चामा योजनाबद्ध ढंगले भकुण्डे आर्मी ब्यारेकको सेनालाई ब्यारेक बाहिर बोलाएर बेथान स्मृती बृगेडले गरेको आश्चर्यजनक हमला । जहाँ बटालिएन कमान्डर चतुरमान वाइबा कमरेड अनिसको बलिदानीसँगै थुप्रै अत्याधुनिक हतियार कब्जा गर्न सफल भएको मोर्चा । जनमुक्ति सेनाले बिजय हासिल गरेको दिन । यो मोर्चाले जनमुक्ति सेनाको मनोबल उच्च भएको थियो । तर प्रिय कमान्डरको बलिदानीलाई पनि पचाउनै पर्ने बाध्यता थियो । युद्धमा होमिएको हरेक योद्धा कि मर्नुपर्छ कि मार्नुपर्छ भने युद्धको सिद्धान्त भित्रै रहनु पर्थ्यो । यही सिद्धान्त अनुसार क. अनिसलाइ सदाको लागि गुमायौं । उहाँको अभावमा हामी टुहुरा बन्यौं । त्यसपछि हामी तेमाल,दोलालघाट हुँदै कोसीपारिको भूमिमा पाइला टेक्दै अघि बढ्यौ । दिन–रात,भोक–तिर्खा र निद्राको परवाह नगरी अघि बढीरह्यौं । २०६२ साल चैत्र १३ गते हामी सिन्धुपाल्चोक जिल्लाको वाफलमा पुगेर सेल्टर लियौं । त्यहाँ ब्रीगेड  कार्यालयले प्रोजेक्टरमा सामना परिवारको अपेरा देखायो । जुन अपेरामा शान्तिपूर्ण कार्यक्रम गरिरहेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट आक्रामण गरेको । बम गोला बर्साएको । सर्वसाधारण जनता र साँस्कृतिक कलाकर्मिहरु तितरबितर भएको ।  जनसेनाका र कलाकारहरूले सशक्त प्रतिरोध गरेको । प्रतिरोध गर्दा योद्दाहरु ढलेको । रगतको खोलो बगेको  । घाइते योद्धाहरुको दयनीय अवस्थको सजीव  चित्रण थियो । ओहो! अपेरा हेर्दा त जीउ नै सिरिङ्ग हुने । आकस्मिक लडाइँमा बच्न र बचाउन साह्रै गाह्रो । (तर म चाहिँ ०५९ सालमा भूमिगत भएपछि योजनाबद्ध लडाइँ र सुरक्षामा ध्यान दिने जस्ता कार्यमा बढी अभ्यस्त रहें। दुश्मनले आकस्मिक आक्रमण गरे पनि बच्न सफल भै रहें ।)
           पार्टी सङ्गठन र जनसेनाको संयुक्त कार्यक्रम ठोकर्पामा राख्ने । उक्त कार्यक्रममा जनसेनाले दारेगौंडा मोर्चामा कब्जा गरेको हतियार प्रदर्शन गर्ने । जनमुक्ति सेनालाई अभिनन्दन गर्ने र जन जागरण अभियानको उदघाटन गर्ने कार्यक्रम तय भयो । वाफलमा खाना खाएर हामी बिहान ९ बजेतिर ठोकर्पातिर लाग्यौं । ठोकर्पामा जम्मा भएपछि  कार्यक्रम बागभैरव मा. वि. को आँगनमा शुरूवात हुँदै थियो ।  जनसेनाको साथीहरू कार्यक्रम स्थल वरिपरि सुरक्षामा रह्यौं । कार्यक्रमको स्वागत मन्तव्य राखी नसक्दै आकाशमा बिना आवाज स्पाइ भ्यान घुमेको  देख्छौ । कम्पनी कमिसर क. निर्मल ( शङ्कर बोहोरा) ले हामीलाई सचेत गराउनु भो । “आकाशमा स्काइ भेन घुम्न थाल्यो कभरमा बस्नुस है । आक्रमण गर्न पनि सक्ला ।“ उनको निर्देशनसङ्गै हामीले केही रुखहरुको कभर लिएर चलाख भै बस्यौं । मन्चमा बोल्ने क्रम चलिरहेकै थियो । अहिलेका सभामुख अग्निप्रसाद सापकोटा (क.कन्चन) बोल्दै थिए । एक्कासी आकाशबाट बमबाडिङ शुरु भयो । हेर्दा हेर्दै हेलिकप्टरबाट असिना वर्षिए झैं फायरिङ पनि हुन थाल्यो । हामीले कभर लिई बसेका रुखका हाँगाहरू  चटचट काटेर झारे झैं झर्न थाल्यो । केही सोच्नै सकिएन । के गर्ने ? कसो गर्ने ? कहाँ जाने ? केही ठेगान भएन । म उभिरहेको देखेर हुनुपर्छ बटालिएन सह–कमान्डर क. उमेशले माथि आउ । त्यहाँ बम खसाल्छ भनेर आदेश दिएको कानले सुन्ने बित्तिकै कुद्दै गएर घरको भित्तामा आड लिएको मात्र के थियो बम क. उमेश भएकै ठाउँमा खस्यो । धुलो धुवाँले केही देख्न सकिएन । कान पनि पुरै बन्द भयो । स्थिति अन्धकार भयो । बल्लतल्ल कानले कहाँ कहाँ मान्छे कराएको जस्तो मात्र सुनियो । बिस्तारै धूलो  धुवाँ भित्रबाट स साना कमिला दौडीरहेको जस्तो मात्र देख्न सकेँ ।  त्यही बेला कमरेड उमेशले ऐया! ऐया भनि कराएको सुनें । बिस्तारै उनी भएको ठाउँमा पुगें । उनको तिघ्राबाट रगत बग्दै रहेछ । म  र एक जना साथीले कभर फायर दिंदै तलतिर लग्यौं । कमान्डरहरु प्रतिरोधमा उत्रि रहे । जोर जोर एल.एम.जी. ले लगातार फायर गरेर आकाशमा उडेको हेलिकप्टरलाई जमिनको ल्याण्ड गर्न दिएनन । दुश्मन हायलकायल भयो । करिब दस पन्ध्र मिनेटमा हेलिकप्टर आकाशबाटै अलाप भयो । त्यतिन्जेलमा साथीहरू त सोत्तर झै भईसकेका रहेछन । वर्तमान सभामुख अग्नि प्रसाद सापकोटालाई पनि गोली लागी सकेछ । कम्पनी सह कमिसार क. प्रतिमा ( भगवती प्रधान) को दुबै खुट्टा भाँचि सकेछ ।  कमरेड रविकालाइ कन्चटबाट गोली लागि गाला हुँदै दाँतको कुरकुरे हड्डी भाँचिएर बेहोस । मकवानपुरको झुर्झुरे मोर्चामा सख्त घाइते भै राम्ररी हिडडुल गर्न  समेत नसकेको क. सौगात ( सुमन पाख्रीन ) को  टाउकोभरी बमको छररा लागेर घाइते भए । त्यसै गरि कम्पनी कमिसार क. नविनको  पाखुरामा गोलीले छेड्यो । क. नमुना ( प्रविना गोले ) जसको बायाँ हात गोलीले छिनालेर छाला अलिकती मात्रै बाँकी थियो त्यो छाला क. शिखा र मैले हात  काटिदियौं । यी त मेरै आँखाले देखेका घाइतेहरु भए । अरु पनि धेरै योद्धाहरू घाइते भए । करिब दस पन्ध्र मिनेटपछि फेरि तीनवटा हेलिकप्टर एकैचोटि टाउको माथि माथि चक्कर लगाउँदै बम गोला वर्षाउअन थाले  । जमिनबाट हामीले सशक्त प्रतिरोध गरिरह्यौं । एकै छिनमा हेलिकप्टर ल्यान्ड गरेर सेनाले जमिनबाट पनि अफेन्स (आक्रमण ) गरेपछि हामी घाइते साथीहरू बोक्दै दुश्मनको घेरा तोड्दै सुरक्षित स्थानतर्फ लाग्यौं  ।  
लडाइँमा कहिलेकाही रिट्रीट हुने अवस्था पनि आउँछ । हामी प्रतिरोध गर्दै रिट्रीट हुन बाध्य भयौं । बिहानको करिब ११ बजेदेखी बम खसाल्न थालेको साझको लगभग ५÷६ बजेसम्म । त्यतिबेलासम्म दुश्मनले आकाश–जमिन कब्जा गरिसकेको थियो । त्यही भएर हामी दुस्साहस नगरी पछि हट्यौं । जनमुक्ति सेनाको ठूलो फोर्स ठोकर्पा आसपासको गाउँ लौरेभन्ज्याङ, सानो बाङ्थली, ठूलो  बाङ्थाली, माझीफेदा, नांग्रे गगर्चे, दुती, पुँडीघ्याङ, दार्खा हुँदै सुरक्षीत स्थानतर्फ लाग्यो । मसङ्गको टोलिमा घाइतेहरु  क. सौगात , क.नमुना, क. उमेश, क.रविका थिए । उनीहरू कोहि बेहोस कोही अर्धचेत  र कोही पुरै होसमा थिए । साँझ पर्न थालेपछी स्थानिय जनताले स्ट्रेचरमा घाइतेलाई बोकेर लौरे  भञ्ज्याङ्सम्म पु¥याए । त्यहाँ अरु टोलीसँग पनि भेट भयो। मेडिकल टोलीले  घाइते साथीहरूको प्राथमिक उपचार गरे । करिब रातको ९ बजे सानो बाङथली  पु¥याएर घाइते साथीहरूलाई आराम गरायौं । त्यतिबेलासम्म भोक, निद्रा, थकाइ सबै हराईसकेको थियो । गम्भीर खालको घाइते साथीहरूलाई रातारात अन्यत्रै उपचारको लागि पठाईयो ।
अझै ढुक्क हुने अवस्था थिएन । को कति खेर ढल्छ थाहै थिएन। हामी १५ गते कोसीपारिको नाङ्ग्रे गगर्छे पुगेर बस्यौ । र घाइते साथीहरूसँगै रह्यौं । जसमा क.नमुना, क.नवीन, क.अन्जली र क. सौगात थिए । पानीको अभाव भएकोले  दुई दिन पछि अलि तल बाझोखेत  झ¥यौं । जहाँ सङ्गठनको साथी क.मिनाले हाम्रो टोलिलाई व्यवस्थापन गर्ने  जिम्मा लिईन । (हाल उनी क्यान्सर जस्तो भयानक रोग सङ्ग लड्दै छिन । आशा गरौं उनले क्यान्सरलाई  जित्नेछिन ।) क. शिखा जो मेडिकल विभागको सिनियर स्वास्थ्यकर्मी  उनको साथमा क. हेमा र क. विकल्प तीन जना स्वास्थकर्मी थिए । म र क. कोपिलाको काम घाइतेलाई पकाएर खुवाउने । सुरक्षामा ध्यान दिने । र स्वास्थ्यकर्मीलाई सघाउने थियो। घाइते भएको चौथो दिन । घाइतेको रगतले भिजेको लुगा खोलामा धोएर ल्याएका थियौं । कपडा सुकाउदै गर्दा कमरेड शिखाले “अलि छिटो चोटामा आउनुस त हामी यहाँ घाइतेहरूको घाउ सफा गर्दैछौ“ भनिन । हामी छिटोछिटो चोटामा उक्लियौ । त्यो बेला क. सौगातको टाउकोमा लागेको बमको छर्रा अप्रेसन गरेर निकाल्न लागेका रहेछन् । बल्लतल्ल करिब आठ÷नौ एम. एम.को बमको छर्रा निकालियो । हामी सबै खुशी भयौं । तर क. सौगात बेहोस भए । म चिच्याएर रुन थालें। म रोएपछी क. शिखा लगायत साथीहरू पनि रुन थाले ।  हामी मध्येको अलि पाको क. नविनले सम्झाए । हामी मान्नेवाला थिएनौं । वर्गीय  नातासँगै रगतको नाता पनि भएकोले मलाई पीडा हुनु  । पीर पर्नु स्वभाविक थियो । अझै उनी बेहोस थिए । म बेस्सरी चिच्याएर रोएँ । दाइ! दाइ ! आँखा खोल्नुस भनेर उनको शरीरलाई हल्लाईरहें । सायद मेरो चर्को रोदनले हुनुपर्छ उनले  बिस्तारै आँखा खोले । उनले विस्तारै  किन रोएको ? भने । हामी खुशीले धपक्क बल्यौं । क. शिखाले निकालेको बमको छर्रा देखायौं । । पहिला दुखे जस्तो भएको र पछि केही थाहा नभएको । र हल्लाले ब्युँझुएको कुरा गरे । अरु घाइतेहरूको घाउ खुट्टा हातमा थियो । त्यसपछि हामी अन्यत्रै लाग्नुपर्ने भयो । त्यहाँको स्थानीयबासी बुबा आमाहरूलाई धन्यवाद दिएर हामी क. मिनासँग हिंड्यौ । बायाँ हात चुँडिएको क. नमूनालाई पनि त्यहाँबाट अन्यत्रै लगियो । क्रान्तिमा नलागेको भए हामी त्यतिबेला स्कुल पढ्दै गरेको हुन्थ्यौं होला । तर  मृत्युलाई जित्दै थियौं । उनी बेला बेलामा रोईरहन्थिन । मेरो हात खोइ भनीरहन्थिन । उनको जवाफ कसरी दिउँ ? जस्तो लाग्थ्यो । नमूना र म काभ्रे जिल्ला सङ्गठनमा पनि सङ्गै रहेकोले दिदीबहिनी सम्बोधन चल्थ्यो ।
हामी स्ट्रेचरमा घाइते साथीहरूलाई बोक्दै घट्टेखोला तरेर साविक लखनपुर–९ रामेछाप (हाल दोरम्बा गाउँ पालिका–७ ) काभ्रेको  काफ्ले बजारको अगाडि पोडिटार अर्चले तीन तले नजिक स¥यौं। काफ्ले बजार गाउको सामान्य बजार थियो । हामीले खाद्यान्न, रसदपानी र औषधि त्यही बजारबाट ल्यायौं । बिस्तारै घाइतेहरूको स्वास्थ्यमा सुधार आयो । आफैं खाने र हिंडडुल गर्न सक्ने भए । हामी खुशी भयौं । आफ्नो फर्मेशन कता पुग्यो कता हामी भने घाइतेको सुरक्षा सेवामा फ्लोरेन्स नाइटिङ्गेल बनी रह्यौ । पोडिटारको बसाइँ लामो रह्यो । लगभग १०÷१५ दिनको बसाइँ भयो । ठाउँ सुरक्षित थियो। अलितल चौरीखोला नजिक सानो घट्टेखोला थियो । एक दिन ठूलो पानी परेर बाढी आयो । हामी बसेको घरभेटी बाले बाढीसँगै बगेर ल्याएको माछा ल्याएर हामीलाई खुवाए ।  हामी दङ्गदास भयौं  ।
घाइते सङ्गै बसेर दिन हुँदै हप्ता बित्यो । हामी पार्टीको सम्पर्कमै रह्यौं । जनताको अगाध मायाले हामी पुलकित भयौं ।  त्यही बेला फेरि तेस्रो डिभिजनले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हान्ने योजना बनाएछ । म र क. कोपिला घाइते साथीहरूसँग विदा भएर नयाँ रणनीतिक तथा फौजी मोर्चा खोल्न हृदयमा उत्साह र उमंग बोकेर त्यतैतिर लाग्यौं ।
पुनश्च ः ठोकर्पामा घाइते हुने क. अग्नि प्रसाद सापकोटा (कन्चन) अहिले सभामुख छन । क. गीता विष्ट (शिखा) सुनपाती गाउँ पालिका रामेछापको उप प्रमुख छन । क. भगवती प्रधान (प्रतिमा) खेती किसानी गर्दैछिन । क. सौगात मकवानपुर जिल्लाको वाइसीएल संयोजक छन । क. रविका औषधिको भरमा बाँच्नुपरेको छ । क. नमूना अपांग भएर बाँच्नुपरेको छ । क. वन्दना र क. कोपिलाको पनि हालत उस्तै छ । यतिखेर म समयको गल्छेडोमा उभिएर सोचमग्न छु । हामी जस्ता कैयौं योद्धाहरूको जिन्दगी अप्ठ्यारोमा नपरोस् । नेताहरूको बुद्धि पलाओस र कम्युनिस्ट आन्दोलन सफल होस भन्ने चाहन्छु ।


...

All Comments.......


Please Login/Register To Comments