मजदुरको आवाज
बैशाख १७, २०८३, बिहीबार | राति ०७:३७ बजे | 125
आर.के. विद्रोही
घामले पोल्छ, पसिनाले भिज्छ शरीर,
तर पेट भर्ने आशा अझै अधुरो छ ।
हातमा सिप छ, मनमा सपना,
तर जीवन किन यति कठोर छ ?
दिनभरि खटिन्छ ऊ, रातभरि थाक्छ,
आठ घण्टाको अधिकार पनि टाढा छ ।
श्रमको मूल्य कागजमै सीमित,
व्यवहारमा त पीडाको पहाड छ ।
न्यून ज्यालामा बाँधिएको जिन्दगी,
आशा पनि कहिलेकाहीँ हराउँछ ।
अपमान सहेर पनि मुस्कान बोकेर,
ऊ फेरि भोलि काममा पुग्छ ।
देश बनाउने हात यही त हुन्,
तर किन यी हात नै कमजोर छन् ?
नेता, नीति र ठूला घरानाबीच,
किन मजदुर सधैं लाचार छन् ?
विदेशिने रहर होइन उसको,
बाध्यताको बाटो रोज्नु परेको छ ।
आफ्नै देशमा सम्मान नपाउँदा,
परदेशको सपना बोकेर हिँडेको छ ।
उठ, मजदुर, तिम्रो आवाज उठाऊ,
एकतामा नै शक्ति लुकेको छ ।
न्याय र सम्मानको उज्यालो बाटो,
तिम्रै संघर्षले खुलेको छ ।
श्रमको पसिना सुनझैँ टल्कियोस्,
न्यायको आवाज अझै बलियो होस् ।
आठ घण्टा काम, सम्मानित जीवन,
यही होस् हाम्रा संघर्षको साधन ।
मे दिवस सम्झना बलिदानको,
एकता बनोस् हाम्रो पहिचानको ।
श्रमिक अधिकार उज्यालो बनोस्,
नेपालभर न्यायको दीप जलोस् ।
