नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आफ्ना नेता तथा कार्यकर्तामाथि सरकारले दुःख दिने, पक्राउ गर्ने र धम्की दिने कार्य गरेको भन्दै आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय कमान्ड इन्चार्ज ‘क. कबीर’द्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टीले देश, जनता, मजदुर र किसानको पक्षमा निरन्तर संघर्ष गर्दै आएको दाबी गर्दै वर्तमान सरकारले पार्टीका नेता–कार्यकर्ताको घरमा पुगेर घेराउ गर्ने, छापामार शैलीमा दुःख दिने तथा पक्राउको धम्की दिने कार्य गरेको आरोप लगाइएको छ।
पार्टीले यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, पार्टी सदस्य, शुभेच्छुक र समर्थकमाथि हुने धरपकड, छापा तथा पक्राउका गतिविधि नरोकिए देशव्यापी जनसंघर्ष र प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएको छ।
विज्ञप्तिमा “देश, जनता, राष्ट्र, मजदुर र किसानको पक्षमा आवाज बुलन्द गर्ने संघर्षलाई दबाउन खोजिए प्रतिरोधमा उत्रिने” उल्लेख गरिएको छ।










