भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो ।
प्रमुख प्रजापतिले शिक्षक—कर्मचारीहरुले असल व्यवहार र नागरिक भावना विद्यार्थीहरुलाई सिकाउनुपर्ने बताउनुहुँदै शिक्षकहरु सचेत, संगठित र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण देखाउनुहुँदै विश्वभरिमा ६ देखि ७ प्रतिशत मानिसहरुमा दम खोकीको समस्या देखिएको तथ्यांक रहेकोमा भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरुमा यो रोगको समस्या देखिएको बताउनुभयो ।
दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउनुहुँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताउनभयो । भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट दम खोकीका रोगीहरु लाभान्वित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।
