पुरुषोत्तमलोचन श्रेष्ठ
पुरातत्वका दृष्टिले लिङ्गपुजन परम्परा पाँचहजार वर्षदेखि अनवतरत रूपमा चली आएको छ । शिव नै एक यस्ता देवता हुन् जसको शरीरका दुई भाग अलग–अलग पुजिएको पाइन्छ । त्यसमध्ये प्रतिमापुजनका तुलनामा लिङ्गपुजन नै रूढ छ । प्रतिमापुजन र लिङ्गपुजनको समावेशी रूप मूर्तियुक्त लिङ्गमा दर्शनीय हुन्छ । मूर्तियुक्त लिङ्गका पनि दुई रूप देखापर्छन् विग्रहलिङ्ग र मुखलिङ्ग (डा.नीलकण्ठ पुरुषोत्तम जोशी (१९७७) प्राचीन भारतीय मूर्ति विज्ञान, विहार राष्ट्रभाषा परिषद्, पटना ः पृष्ठ ५१) । मुखलिङ्ग पनि एकमुख, दुईमुख र चतुर्मुख अनेक कालखण्डमा चलेको पाइन्छ । शिवलिङ्गको शिर्षमा चारैतिर शिवका चार मुख कुदेर बनाइएको चतुर्मुख शिवलिङ्गको एउटा सुन्दर नमुना यन्त्रासनमा स्थित यो जलहरियुक्त चतुर्मुख शिवलिङ्ग पनि हो । शिवलिङ्गको मुखस्थिति (नाम, दिशा, आम्नाय र प्रतीक) यस प्रकार रहेको विदित हुन्छ ः १.सद्योजात÷महादेव –पूर्व, पूर्वाम्नाय, पृथ्वीतत्व २.तत्पुरुष÷नन्दीवक्त्र – पश्चिम, पश्चिमाम्नाय, वायुतत्व ३.अघोर÷भैरव – दक्षिण, दक्षिणाम्नाय, अग्नितत्व ४.वामदेव÷उमावक्त्र – उत्तर, उत्तराम्नाय, जलतत्व । भौतिक रूपका यी चार मुखलिङ्गका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन् जसमध्ये शिवलिङ्गको शिर्षभागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ जुन आकाशतत्वको प्रतीक मानिन्छ । त्यसैगरी शिवलिङ्गको तलको भागलाई (अधराम्नाय) पातालतत्वको प्रतीक मानिन्छ ।
यस अध्ययनअघि यस चतुर्मुख शिवलिङ्गको नामसित भक्तपुरको सांस्कृतिकजीवन परिचित रहेको देखिएन । ऐतिहासिक सामग्री भाषावंशावलीमा उल्लेखित विवरणबाट यस महादेवको नाम ‘जागेश्वर’ रहेछ भन्ने नूतन कुराको साथै अन्य महत्वपूर्ण कुरा समेत एकसाथ ज्ञात हुन आएको छ जुन यस प्रकार छ (भाषा वंशावली, भाग २, पृष्ठ ६०)
कान्तिपुर ललितपत्तनका राजा दुई मिली भक्तपुरमाथि चढाइ गरी …त्यहाँपछि संवत् ७८३ वैशाख मैन्हामाथि पोजोलमाथि जगज्योतिर्मल्लले बनायाको पोखरीको छेउ स्थापना गरी राख्याको जागेश्वर महादेव सुनका छाना भयाका देवता उठाई आङ्खना शहर कान्तिपुरमा लग्या । फेरि यसै पोखरीबीच राख्याको सुनका नाग पनि उठाई लगी कान्तिपुरका भण्डारखालका पोखरीमा सुनका बसाहामाथि जागेश्वर राखी नागफनि समेत राखिदिया ।’
उक्त विवरणलाई आधार मानेर यी जागेश्वर महादेवलाई हेर्दा हनुमानढोका राजदरबारको भण्डारखालको नागपोखरी र नजिकैको सानो महादेवमन्दिरमा स्थापित ती जागेश्वर महादेवको स्मरण हुन आएको छ जसलाई तत्कालीन कान्तिपुरका राजा प्रतापमल्लले ललितपुरसित मिलेर ने.सं. ७८३ मा भक्तपुर आक्रमण गर्दा यो पोखरी समेत बिगारी यहाँका सुन्दर कलाकृति लगायत यी जागेश्वर महादेव पनि उठाएर लगी त्यहाँ सजाउन लगेका थिए । प्रताप मल्लले पोखरी भताभुङ्ग पारेर यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका राजदरबार सजाउन लगेको कुराको उल्लेख तात्कालिक अन्य ऐतिहासिक सामग्रीको अध्ययनबाट पनि विदित हुन्छ । विचारणीय कुरा के छ भने स्थानविशेषका महत्वपूर्र्ण कलाकृति उठाएर लगी हनुमानढोका राजदरबार सजाउने सौख राख्ने प्रतापमल्लको निधन भएको १४ वर्षपछि नेपालमण्डल (काठमाण्डौ उपत्यका) का तीनवटै राज्यबीच राजनैतिक सम्बन्ध सुमधुर भएको अवस्था थियो । त्यही समयमा यस पोखरीको जीर्णोद्धार भएको थियो । त्यस क्रममा प्रतापमल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको दृष्टिगोचर हुन्छ । समयको उर्दी र नियतिको खेल हो । नेपाली सेनाको सहमति एवं भक्तपुर नगरपालिकाको सत्कर्म–प्रयासमा कैयन कालदेखि सुतेका यी जागेश्वर महादेव फेरि जाग्ने ऐतिहासिक दिन आएको छ । यो हामी सबैका लागि खुशिको कुरा हो । जागेश्वर महादेवले सबैको कल्याण गरून् ।










