भक्तपुर । नेपाल सरकार उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँग भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणबारे आइतबार सरोकारवालाहरूबीच छलफल भयो । नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख, वडाध्यक्ष, उद्योग संघका प्रतिनिधि, औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रीय कार्यालयका प्रतिनिधि, उद्योगपति र पीडित जनताबीच भएको उक्त छलफलमा भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इण्डष्ट्रिज प्रा.लिलगायत औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगको ध्वनी र धुँवा प्रदूषणबाट वरिपरिका स्थानीय जनताको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको हुँदा सो औद्योगिक क्षेत्र काठमाडौं उपत्यका बाहिर स्थानान्तरण र उक्त क्षेत्रको सम्पूर्ण जग्गा भक्तपुर नगरपालिकालाई हक हस्तान्तरणको लागि आवश्यक पहल गर्नुपर्ने विषयमा छलफल भयो ।
उहाँले औद्योगिक क्षेत्र हस्तान्तरण कुनै व्यक्तिविशेषको चाहना नभई स्थानीय जनताकै हितमा भएको बताउनुहुँदै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको भक्तपुरको कला र सम्पदामाथि आँच आउने कुनै पनि गतिविधि सञ्चालन हुन नहुने कुरामा जोड दिनुभयो ।
जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितताको लागि मन्त्रालयले सकारात्मक कदम चाल्नेतर्फ आश्वस्त पानुहुँदै मन्त्री दुगडले जनताको साथ र सहयोगले पनि देशको समृद्धि सम्भव हुने बताउनुभयो ।
मानव बस्ती बीचमा सञ्चालित उद्योग क्षेत्र काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्ने नीतिअनुरुप मन्त्रालयको संयोजकत्वमा सरोकारवाला पक्षहरू राखी समिति गठन गरी आवश्यक निरीक्षण गरी उक्त समस्या समाधान यथाशक्य चाँडो हुने बताउनुभयो ।
सुरुमा भक्तपुर घरेलु तथा साना उद्योगको नाममा सञ्चालित उक्त भक्तपुर औद्योगिक क्षेत्रमा हाल ठूल्ठूला मेसिनहरूबाट अत्यधिक ध्वनी तथा धुँवालगायतका प्रदूषणहरू भइरहेको र सांस्कृतिक नगरमा यसको नकारात्मक अवसर पुगिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । नेपो लगायतका उद्योगको ध्वनी प्रदूषणबाट वरिपरिका सयौं घरका जनताको स्वास्थ्यमा नकारात्मक असर पुग्नुका साथै विद्यार्थीको अध्ययनमा पनि बाधा परेको बताउनुहुँदै सांसद सुवालले ध्वनी प्रदूषण फाल्ने नेपोलगायतका उद्योग अविलम्ब त्यहाँबाट स्थानान्तरण हुनु आवश्यक भएको बताउनुभयो ।
औद्योगिक क्षेत्र वरपर बसोबास गर्ने पीडित नगरबासीहरूबाट सो उद्योगहरूबाट निस्कने धुँवा, धुलो, ध्वनी तथा रसायन प्रदूषणका कारण स्थानीय नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको र विश्व सम्पदा क्षेत्रमा सूचीकृत भक्तपुर दरबार क्षेत्रसँग जोडिएको सो उद्योग क्षेत्र स्थानान्तरण गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्रमार्फत आग्रह गर्नुभयो । भक्तपुर औद्योगिक क्षेत्र तत्काल काठमाडौं उपत्यका बाहिर स्थानान्तरणको लागि पहल गरिदिन र उक्त जग्गा सरकारले अधिग्रहण गर्दा कुटीर, व्यवसाय र हस्तकलामा आधारित क्षेत्र विकास गरिने उद्देश्य राखिएको हुँदा सो क्षेत्रको सम्पूर्ण जग्गा भक्तपुर नगरपालिकालाई हक हस्तान्तरण गर्न आवश्यक व्यवस्थाको लागि पहल गरिदिनु अनुरोध गरिएको व्यहोरा पत्रमा उल्लेख छ ।
छलफलमा भक्तपुर औद्योगिक क्षेत्रका व्यवस्थापक, नेपो इण्डष्ट्रिज प्रा.लि.का प्रशासक, उद्योग संघका प्रतिनिधि र पीडित स्थानीय जनताले भक्तपुर औद्योगिक क्षेत्रबाट भइरहेको कार्य र त्यसबाट स्थानीय जनतामा पुगेको असरबारे आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।










