कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यलाई ठग्नेहरुलाई भ्रष्टाचारीको संज्ञा दिनुहुँदै कर्मचारीहरु भनेको जनताको सेवकको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । भक्तपुरमा विकास निर्माणका कार्यहरु उपभोक्ता समितिमार्फत भइरहेको र सम्पदा निर्माणमा उल्लेख्य जनश्रमदान र जनताको सहयोग प्राप्त भएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले जनप्रतिनिधि र कर्मचारीको अथक मेहेनत र प्रयासका कारण भक्तपुर सुन्दर नगरको रुपमा परिचित गर्न सफल भएको बताउनुभयो ।
पैसा कमाउने उद्देश्य हुनेहरुले भ्रष्टाचारलाई बढावा दिने बताउनुहुँदै प्रमुख प्रजापतिले कोभिड १९ को जटिल परिस्थितिमा पनि जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले व्यक्तिगत फाइदा र पारिवारिक हितलाई भन्दा सामूहिक हितलाई प्राथमिकतामा राखी सदाचारयुक्त नागरिक बन्न प्रेरित गर्नुहुँदै भक्तपुरमा भ्रष्टाचार गर्नेहरुलाई उल्टा टोपी लगाइदिएर कालोमोसो दली बजार परिक्रमा गरेको बताउनुभयो । पुँजीवादी व्यवस्थामा नेताहरु भ्रष्टाचारमा लिप्त हुने प्रसंग जोड्दै उहाँले राजनीतिक पार्टी ठूलो हुनुमा भ्रष्टाचारले पनि भूमिका खेलेको हुन्छ भन्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा इकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भ्रष्ट आचरण त्याग्नु नै असल नागरिकको कर्तव्य भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाका कर्मचारीहरु व्यक्तिगत भन्दा पनि संस्थागत हितको निम्ति काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा समितिका सहचिव विकास प्रजापति र सदस्य रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।










