भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल शुक्रबार भर्चुअल कार्यक्रममार्फत सम्पन्न भयो ।
उहाँले भक्तपुरमा कार्यरत १५४ वटा सहकारी संस्थाहरूले नपाको आग्रहलाई स्वीकार गर्दै सहकारी संस्थाहरूको तर्फबाट रु. ९ लाख १३ हजार रकम सहयोगस्वरुप प्राप्त भएको र विषम् समयमा सहकारी संस्थाहरूले निरन्तर साथ र सहयोग गर्दै आएकोमा आभार प्रकट गर्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले आर्युवेदिक उपचार पद्धति हाम्रो मौलिक उपचार विधि भएको हुँदा त्यसलाई पनि अगाडि बढाउन प्रयत्न गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुरमा कोभिड १९ को संक्रमित बढ्दै जाँदा नगरपालिकाले आइसोलेसनको आवश्यकता महसुस गरी छुटै आइसोलेसन व्यवस्थापनको तयारी गरिरहेको बताउनुहुँदै सहकारीसंस्थाहरूले संक्रमण र त्यसको जोखिमबारेमा सदस्यहरूलाई जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नु उचित हुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले पनि सहकारीको मूल्य मान्यताबारे प्रष्ट पार्दै भनपाले सहकारी संस्थाहरुको नियमित अनुगमन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो सुझावहरू प्रस्तुत गर्दैै कोरोनाविरुद्ध लड्न भक्तपुर नगरपालिकासँग सहयोग र सहकार्य गरी अगाडि बढ्न सहकारी संस्थाहरू तयार रहेको बताउनुभयो । सहकारी संस्थाको साधारणसभा परिस्थिति अनुकूल भइसकेपछि सामान्य ढंगले कम खर्चमा सञ्चालन गर्न सकिने बताउनुहुँदै सामाजिक विकास कोषको रकमलाई कोभिड नियन्त्रणको लागि खर्च गर्न सकिने बताउनुभयो ।










