भक्तपुर । आदर्श आजाद माध्यमिक विद्यालय भेलुखेल भक्तपुरको एउटा भबनको शिलान्यास आइतबार एक समारोहवीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले गरे । दुई करोड ९७ लाख ६६ हजार दुई सय ५५ रुपैयाँं (भ्याटबाहेक) को लागत इष्टमेटमा विद्यालय भबन निर्माण सुरु गरिएको हो । विद्यालय भबनको निर्माण २०७८ पुसभित्र सम्पन्न गरिसक्ने योजना राखिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले भबन बनाइदिन लागेको हो । भबन बनाउन लागि लाग्ने सम्पूर्ण खर्च उसैले व्यहोरिदिने सम्झौताका साथ काम सुरु भएको हो । भबनको भौतिक निर्माणका साथै रंगरोगन, बेन्च टेवलसहित उसैले राखिदिने सम्झौता भएको विद्यालयका सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतुले बताए ।
विद्यालयकै करिव साढे ६ आना जग्गाको क्षेत्रफलमा भबन निर्माण सुरु गरिएको हो । भबन तीन तल्लाको हुनेछ । प्रत्येक तल्लामा तीनतीन वटा कोठा गरी नौ वटा कोठाहरु हुनेछन् । ती कोठाहरु कुनै कक्षाकोठादेखि विभिन्न रहने विद्यालयले जनाएको छ । तीमध्ये एउटा कोठा अपांगमैत्री कक्षाकोठा रहने जनाइएको छ ।










