भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास मंगलबार गर्नुभयो ।
कोरोना रोगको जोखिमका कारण यस वर्ष धेरै मानिसहरु जम्मा हुने चाँडपर्वहरुलाई औपचारिकतामै सीमित गर्ने निर्णय भक्तपुर नगरपालिकाले गरेको बताउनुहुँदै उहाँले भक्तपुर नगरको पुरानो मौलिक शैलीलाई जीवन्त राख्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो — ‘नगरका मुख्य बजार क्षेत्रमा ढुंगा छपाइ कार्य लगभग सकिसकेको छ । अरनिको सभाभवन, थन्थु दरबार (नपाको पुरानो भवन) र न्ह्यकं झ्या दरबार प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा पुनःनिर्माण गर्ने सोचले नगरपालिका अगाडि बढिरहेको छ ।’
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउनुहुँदै सम्पदा पुनःनिर्माण ठेक्कापटामा गर्न नहुनेमा जोड दिनुभयो । उहाँले कोरोना र डेंगु विरुद्ध लड्न आ—आफ्नो ठाउँ सफा गर्न आफै अघि सर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवालले भक्तपुरको ऐतिहासिक सम्पदाहरुमध्येकै पुरानो आगँछेँको पुनःनिर्माणमा भक्तपुर नपाको अगुवाई र सहयोगप्रति आभार प्रकट गर्नुहुँदै सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका मजदुर तथा किसानहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँहरुले पुर्खाले छोडेको सम्पदाले नयाँ पुस्ताको सेवा गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवाल र स्थानीय रमिला प्रजापतिले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको प्रस्तावित श्री विश्वकर्मा आँगछेँ (तेलिकोटा झ्याल) पुनःनिर्माण उपभोक्ता समितिमार्फत लगत इस्टिमेट रु. ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ रहेको छ ।









