मनमा माया भएनि जमानाको नजरमा पर्ला भन्ने चिन्ता भएकी युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउन सफल युवकको कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ सार्वजनिक भएको छ । एक समारोहकाबीच वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । हाल चर्चामा रहेको यस म्यूजिक भिडियोका गायक रोविनसन कंसाकार र सुमन मानन्धर दुवै नेपालभाषाको चर्चित जन्मदिनको शुभकामना गीतको प्रतिस्पर्धाबाट चुनिएका गायक गायिका हुन् भने यो गीतको रचना सोही जन्मदिनको शुभकामना (बूदिंया भिंतुना म्ये) गीतका रचयिता एवं गायक सुरजवीर बज्राचार्य हुन् । संगीत एवं संगीत संयोजन वरिष्ठ संगीत निर्देशक जूगल डंगोलले गरेका छन् । गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
छोटो कथाभित्र बुनिएको गीतको यस म्यूजिक भिडियोका कलाकारको श्रृंगार पूजा शाही र निरु महर्जनले गरेका हुन् भने ड्रोन छायाँकन सनी शाक्यले गरेका छन् । गीत सार्वजनिक भए लगत्तै चर्चा कमाउन थालेपछि आफू निकै हौसिएको निर्देशक एवं कलाकार आराध्यलक्ष्मीले बताएका छन् भने गीतबाट प्राप्त प्रतिकृयाले निकै उत्साहित बनाएको गायकद्वय रोविनसन कंसाकार र सुमन मानन्धरले उल्लेख गरेका छन् ।




