भक्तपुर । भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सोमबार एक समारोहबीच सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
कोषमा जम्मा भएको रकमबाट संक्रमितहरुको लागि आइसोलेसन केन्द्रका साथै नगरबासीहरूको सेवा कार्यमा सहयोग पुगेको बताउनुहुँदै उहाँले भक्तपुरको विकास निर्माणमा केही ढिलाई भए तापनि कोरोना नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाले चेक हस्तान्तरण गर्ने क्रममा सिद्धि गणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउनुहुँदै संस्थाको ‘समुदाय विकास कोष’ को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरुप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे प्रष्ट पार्नुहुँदै आगामी दिनमा यो रोग संक्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु अध्यक्ष लाखालाई प्रदान गर्नुभयो ।









